हात्तीपाईले बिरुद्ध औषधी खुवाउने आज ११ औँ दिन, दाङमा तीन लाख ७४ हजारले औषधी खाए

दाङ । दाङमा करिब ५० प्रतिशत नागरिकहरुले हात्तीपाईले बिरुद्धको औषधी खाएका छन् । गएको फागुन २८ गतेबाट शुरु भएको आम औषधी सेवन कार्यक्रममा मंगलबारसम्म करिब ५० प्रतिशत नागरिकहरुले औषधी खाएको स्वास्थ्य कार्यालय दाङले प्रारम्भिक तथ्यांक निकालेको छ ।

अहिलेसम्म ३ लाख ७४ हजार १ सय ४४ जनाले औषधी आएका छन् । जिल्लाका दशवटै पालिकाहरुमा अहिले आम औषधी सेवन कार्यक्रम जारी छ । यस बर्ष ६ लाख ५५ हजार ७ सय ६१ जनालाई औषधी खुवाउने स्वास्थ्य कार्यालयले लक्ष्य लिएको थियो ।

सबै पालिकाहरुको अझै पूर्ण विवरण नपठाएको र तथ्यांकहरु अपडेट हुन पनि बाँकी रहेकाले अहिलेसम्म ५० प्रतिशतले औषधी खाएको फोकल पर्सन कमल चन्दले जानकारी दिए । पालिकाहरुले औषधी खुवाउनका लागि एक देखि दुई हप्ताको समय छुट्याएका छन् ।

एक हजार स्वास्थ्यकर्मीहरु औषधी खुवाउन घरदैलोमा रहेका छन् । दाङमा यो औषधी सेवन कार्यक्रम शुरुभएको १२औँ बर्ष हो । गतबर्ष दाङमा ६४ प्रतिशत नागरिकहरुले मात्रै औषधी खाएका थिए ।

सबै नागरिकहरुले नियमित औषधी सेवन नगर्दा अभियान नै प्रभावित हुँदै आएको छ । हालै रामपुरमा ३ सय ३० जनाको नमूना जाँच गर्दा ११ जनामा र सिसहनियामा ३ सय १४ जनाको नमूना जाँच गर्दा १५ जनामा हात्तीपाईलेको परजिवी भेटिएको थियो ।

स्वास्थ्य कार्यालयको आँकडा अनुसार हातखुट्टा सुन्नीएका २ सय ८९, हाईड्रोसिल भएका १६ सय १४ र दुबै भएका १ सय ३२ जना हात्तीपाईलेका रोगिहरु रहेका छन् । अबको २ बर्षमा जिल्लाबाट हात्तीपाईले रोगलाई निवारण गर्ने लक्ष्य लिईएको स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीको भनाई छ ।

अहिले पनि जिल्लामा ४ प्रतिशतमा हात्तीपाईलेको परजिवी रहेको छ । कम्तिमा २ प्रतिशत भन्दा तल झार्ने गरी आमऔषधी सेवन कार्यक्रम सञ्चालन गरिएको शाहीले बताए । नेपाल सरकारले भने सने २०३० सम्म नेपालबाटै हात्तीपाईले रोग निवारण गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस