दाङमा स्वास्थ्य विमा कार्यक्रम सुस्त : तेह्र महिनामा २० हजार जना विमित

दाङ । दाङमा स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी ढंगले अघि बढ्न सकेको छैन । गत बर्षको माघ ३० गतेबाट स्वास्थ्य विमा कार्यक्रमको शुरुवात गरिएको थियो । कार्यक्रम शुरु भएको १३ महिना पुग्दासम्म करिब २० हजार जनाले मात्रै विमा गराएको विमा कार्यक्रमका जिल्ला संयोजक गोपीलाल वलीले जानकारी दिए ।

अहिले जिल्लाका ९५ वटा वडामा विमा दर्ता सहयोगी कार्यकर्ताहरु रहेका छन् । बाँकी ५ वटा वडामा विभिन्न कारणले खाली रहेको छ । स्वास्थ्य विमाका लागि ५ जनाको परिवार सम्म ३५ सय रुपैयाँ जम्मा गर्नुपर्छ भने सरकारले एक लाख रुपैयाँको विमा गर्दछ । यस्तै ६ जनादेखि माथीको परिवार सदस्य भए प्रति सदस्य ७ सय रुपैयाँ जम्मा गर्दै जाने र २ लाख रुपैयाँको विमा सरकारले गर्ने गरेको छ ।

सरकारले अति गरिव, पूर्ण अपांगता, क्षय तथा कुष्ठ रोगी, एचआईभी संक्रमित र ७० बर्षभन्दा माथीका जेष्ठ नागरिकलाई एक लाख रुपैयाँसम्मको निःशुल्क विमा गर्ने समेत वलीले जानकारी दिए । त्यस्तै महिला स्वास्थ्य स्वयसेविकाको परिवारलाई योगदानको रकममा ५० प्रतिशत छुट गर्ने कार्यक्रम रहेको छ ।

जिल्लामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, प्रादेशिक अस्पताल तुलसीपुर, लमही अस्पताल, श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, रक्षा चौर आँखा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र स्यूजा र बंगलाचुली अस्पतालमा विमा गरे बाफतको उपचार सेवा केन्द्र तोकिएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस