दंगीशरणमा राष्ट्रपति रनिङ शिल्ड हुँदै
दाङ । दंगीशरण गाउँपालिका स्तरीय चौथो तथा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७८ मंगलबार देखि सुरु हुँदैछ । गाउँपालिकाको आयोजना तथा बिरेन्द्र मावि हेकुलीको संयोजनमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन बिहान १० बजे गर्ने कार्यक्रम रहेको छ ।
३ दिन सम्म सञ्चालन हुने प्रतियोगितामा फिल्ड तर्फ भलिबल, कबडी, छात्र र छात्रा त्यस्तै एथ्लेटिक्स ट्रयाक तर्फ १००, २००, ४००, ८००, १५००, ३००० मिटर छात्र र छात्रा दौड, १०० गुणा ४०० र ४ गुणा ४०० छात्र र छात्रा रिले दौड तथा फिल्ड तर्फ हाइजम्प, लङजम्प, त्रीपलजम्प, ज्यावलिङ थ्रो र सट पुट छात्र र छात्रा बिच कडा प्रतिस्पर्धा हुने गाउँपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख बिनोद अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा गाउँपालिका क्षेत्रका सामुदायिक तथा निजी गरि ८ विद्यालयको सहभागिता रहने छ , भने विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष उमेर सम्मका छात्र र छात्राले मात्र भाग लिन पाउने छन् । गाउँपालिका अध्यक्ष भागी राम चौधरीको अध्यक्षतामा फागुन २३ गते बसेको बैठकले चैत १ देखि ३ गते सम्म रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्राविधिक सहायक उमा केसीले जानकारी दिइन ।
बैठकले प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः २०, १५, र १० हजार पुरस्कार राशि प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले प्रथम, दोस्रो र तेस्रो गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिता पूर्ण रुपमा सार्थक र परिणाम मुखी बनाउन सफल भएको निष्कर्ष निकाल्दै यति बेला चौथो रनिङ शिल्ड प्रतियोगितालाई अझ मर्यादित र भव्य बनाउन गाउँपालिका लागि परेको गाउँपालिका अध्यक्ष चौधरीले बताए ।
आफूहरूले रनिङ शिल्ड प्रतियोगितालाई खेलकुद महोत्सवका रुपमा लिएको भन्दै उनले यो बालबालिकाको सर्वाङ्गीण विकाससँग जोडिएको विषय भएको पनि बताए । त्यसैले गाउँपालिकामा रहेका ५ वटा सामुदायिक विद्यालयलाई आन्तरिक तयारीका लागि सहयोग स्वरुप गाउँपालिकाले छुट्याएको ६० हजार रुपैयाँ १२ हजारका दरले प्रदान गरेको समेत उनले बताए । यसैबीच प्रतियोगिता संयोजनको जिम्मा पाएको बिरेन्द्र मावि हेकुलीले रनिङ शिल्ड प्रतियोगिताको तयारी लाई तीब्र पारेको जानकारी दिएको छ ।