फागुन २८ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाइने

दाङ । दाङमा १२औं चरणको राष्ट्रिय हात्तीपाईले रोग विरुद्धको औषधी सेवन अभियान संचालन गर्न लागिएको छ । आउँदो शनिबारदेखि चैत पहिलो सातासम्म हात्तीपाईले रोग विरुद्धको आम औषधी सेवन अभियान संचालन गर्न लागिएको छ ।
हात्तीपाईले रोगको जोखिम कायमै भएको हुँदा जिल्लाभर औषधी सेवन अभियान संचालन गर्न लागिएको छ । सोहि अनुरुप तुलसीपुरमा पनि हात्तीपाईले रोग विरुद्धको आम औषधी सेवन अभियानको तयारी तिव्र पारिएको छ । विगतका वर्षको तुलनामा यस वर्ष प्रभावकारी बनाउनका प्रचारप्रसारलाई व्यापक बनाईएको जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिए । तुलसीपुर क्षेत्रमा यस पटक झन्डै डेढ लाख नागरिकलाई हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने लक्ष्य राखीएको उनले बताए ।
तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखाले बिहीबार तुलसीपुरमा आयोजना गरेको पालिकास्तरीय बहुनिकाय गोष्ठि विषयक अन्र्तक्रिया कार्यक्रममा अभियान बारे जानकारी दिदै उनले यसपटक सामान्यतया दुई वर्षदेखि माथिका उमेर समूहका एक लाख ३८ हजार ४५१ जना नागरिकलाई उचाई अनुसार औषधी खुवाईने लक्ष्य राखिएको जानकारी दिए । उनले एकजना व्यक्तिलाई उचाई अनुसार ९ वटा ट्याबलेट एकै पटक खुवाउने तयारी भएको बताए । उक्त जनसंख्याका लागि चार लाख पन्ध्र हजार ३५३ ट्याबलेट आबश्यक पर्ने र औषधी सेवनका लागि दुई सय बढी महिला स्वास्थ्य स्वंयमसेवीका परिचालन गर्न लागिएको उनले बताए ।
सरकारले नै सन् २०३० सम्म देशलाई हात्तिपाईले रोग निवारण घोषणा गर्ने लक्ष्य लिएको हुँदा सोहि अनुसार तुलसीपुर क्षेत्रमा यस पटक विगत भन्दा फरक र व्यवस्थित तरिकाले औषधी खुवाउन लागिएको उनले बताए । पहिलो दिन शनिबार उपमहानगरको १९ वटै वडामा रहेका स्वास्थ्य संस्था र तोकिएको बुथबाट औषधी खुवाईने छ । त्यसपछि चैत ४ गतेसम्म स्वास्थ्यकर्मीको सहयोगमा महिला स्वास्थ्य स्वंयमसेवीका परिचालन गरी प्रत्येक घरघरमा पुगेर औषधी खुवाउने तयारी भएको उनले बताए । जिल्लामा तुलसीपुरको टरिगाउँ, देउखुरीको सिसहनिया र रामपुर क्षेत्रमा हात्तीपाईले रोगका बिरामी भएकाले अनिवार्य सबैले औषधी सेवन गर्नुपर्ने जनस्वास्थ्य प्रर्वद्धन शाखा प्रमुख ओमपी न्यौपानेले बताए । यस पटक आईडिएको आधारमा हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान जिल्लामा संचालन हुन लागेको उनले बताए ।
आम नागरिकले तोकिएको समयमा औषधी सेवन नगर्दा समस्या भएको उनले बताए । यस पटक सवैले औषधी सेवन गर्नुपर्ने उनले बताए । हात्तीपाईले रोग विरुद्धको औषधी बारे अनावश्यक भ्रम सिर्जना भएकाले नागरिकले खान नमानेको भन्दै यसको प्रचारप्रसार व्यापक गर्नुपर्ने उनले बताए ।
यसका लागि संचारमाध्यमहरुको महत्वपूर्ण भूमिका हुने भन्दै प्रचारप्रसार गरी सहयोग गर्न उनले संचारमाध्यमहरुलाई आग्रह गरे । नागरिकले हात्तीपाईले रोग विरुद्धको औषधी खान हुन्न भन्ने नकारात्मक सोचाईले गर्दा हात्तीपाईले रोग विरुद्धको अभियान सफल हुन नसकेको उनले बताए । अहिलेसम्मको औषधी सेवन अभियान अन्र्तगत जिल्लामा ६५ प्रतिशत नागरिकले औषधी सेवन गरेको उनले बताए । तर लक्ष्य पूरा गर्नका लागि कम्तिमा ८० प्रतिशत नागरिकले औषधी सेवन गरेको हुनुपर्ने उनको भनाई छ ।
जनस्वास्थ्य प्रर्वद्धन शाखाका विष्णु गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तुलसीपुर क्षेत्रका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, कर्मचारीलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।