विविध कार्यक्रम साथ गढवामा श्रमिक महिला दिवस मनाईयो

गढवा । देउखुरीको गढवा गाउँपालिकाले विविध कार्यक्रमका साथ नारी दिवस मनाएको छ । उपाध्यक्ष शान्ती चौधरीको अध्यक्षता र लुम्बिनी प्रदेश सांसद दामा शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई संबोधन गर्दै शर्माले महिलाहरुको पक्षमा कानूनहरु प्रसस्तै बनेको तर पुर्ण रुपमा कार्यान्वयन हुन नसकेको बताइन् । पुरुषको हाराहारीमा पुग्न र बनेका कानूनहरु कार्यान्वयनमा लैजान अझै धेरै संघर्षहरु बाँकी रहेको उनीले बताइन् । गढवा गाउँपालिकाले मंगलबार आयोजना गरेको ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रमलाई संबोधन गर्दै शर्माले यस्तो बताइन् ।

कानूनी रुपमा संबिधानतः पैत्रिक संपत्तिमा छोरा सरह छोरीलाई संपत्तिमा अधिकार उल्लेख गरिएको भएपनि ब्यबहारतः लागु हुन नसकेको उनीले बताइन् । युरोप र अमेरीकाका महिलाहरुले कारखानामा काम गर्दा समान कामको समान ज्यालाको माग गर्दे गरेको बिराट आन्दोलनको बिजयको परिणाम श्रमिक महिला दिवस मनाउन पाएको कार्यक्रममा उनले बताइन् । नारी दिवस संझीरहँदा सबै क्षेत्रका श्रमजिवी महिलाहरुको सम्मान गर्दै असमानता निराकरण गर्ने चेतना श्रमिक महिला दिवसले दिओस्–शर्माले भनिन् ।

कार्यक्रमका विशिष्ट अतिथी गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले महिलाहरुलाई राज्यले माथी उठाउन थुप्रै सुविधाहरु ल्याएको र ति सुविधाहरु हाँसिल गरि पुरुष सरह अगाडी बढ्न नारी दिवसले सन्देश प्रबाह गरोस् भने । महिलाहरु अधिकार प्राप्तीका लागि न्यायपुर्ण ढंगले संघष गर्दै अगाडी बढ्न सकेमात्र श्रमिक महिला दिवसको सार्थकता रहने उनले बताए । गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा महिला अधिकारकर्मी सकुन्तला डिसी, जया बिश्वकर्मा, मधा न्यौपाने, वालीका शर्मा, बिष्णुदेवि कँवर र सबिना खातुनलगायतले बालेका थिए । न्यायिक समितिका सदस्य कमला नेपालीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन कार्यपालिका सदस्य शोभा रावतले गरिकी थिइन् ।

गढवा गाउँपालिका र यहाँ कृयाशिल दर्जन बढी संघसंस्थाहरुले बिविध कार्यक्रमकासाथ ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएका हुन । कार्यक्रममा महिला जनप्रतिनिधि, स्थानीय संघसंस्था, महिला अधिकारकर्मी, शिक्षक महासंघ, बिभिन्न बिद्यालयका प्रअहरु, नागरिक समाज, सुरक्षाकर्मी र संचारकर्मीको उपस्थिती रहेको थियो ।

कार्यक्रम अन्तर्गत फागुन २२ र २३ मा दिन गढवा गाउँपालिकाको सभाहलमा अन्तरक्रिया सम्पन्न भएको छ । फागुन २४ का दिन गढवा गाउँपालिकाभरका सरकारी र निजी बिद्यालयका कक्षा ८ देखि १२ सम्मका बिद्यार्र्थीहरु बिच स्थलगत निबन्धलेखन प्रतियोगिताको आयोजना गरिएको महिला तथा बालबालिका शाखाले जानकारी दिएको छ । मंगलबार गढवा पञ्चैबाजा कला संस्कृतिको पंचैबाजा झाकी र मयुरनाँचलगायतका बिभिन्न साँस्कृतिक झाँकीहरु सहित गढवा बजारमा शोभायात्रा तथा ¥्याली गरिएको र महिलाहरु बिच कुर्सी दौड, तातो आलु र २ सय मिटरको दौड लगायत बिविध खेलकुद प्रतियोगीता सम्पन्न भएका महिला तथा वालवालिका शाखाले जानकारी दिएको छ । सो अवसरमा आयोजित खेलकुद प्रतियोगिता, निबन्ध लेखन र झाँकी जुलुसमा उत्कृष्ट हुनेहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

गढवा गाउँपालिका मुख्य आयोजक रहेको सो कार्यक्रममा गढवाका सरकारी गैरसरकारी गरि दर्जनबढी संघसंस्थाहरुको समन्वय र सहकार्य रहेको थियो । जसमा इलाका प्रहरी कार्यालय गढवा,गढवा उद्योग बाणिज्य संघ,नेपाल रेडक्रस सोसाईटी,मुक्त कम्लहरी बिकास मञ्च,सुआहारा कार्यक्रम,आम्दा नेपाल,वन तथा वातावरण,देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, दक्षिण देउखुरी अधिकार मञ्च,अन्तरपार्टी महिला संजाल,अनेमसंघ क्रान्तीकारी, स्वान नेपाल, सिपी नेपाल, चेतनशिल महिला समाज केन्द्र, दलित शसक्तिकरण अभियान, रेडियो साझा आवाज, नवस्वर्गद्धारी महिला सहकारी, बानाथ बचत सहकारी, हिमाल महिला बचत सहकारी, गाउँपालिका स्तरीय वाल सञ्जाल, समुदाय स्रोत ब्यवस्थापन केन्द्र र शान्ति पुर्नस्थापना केन्द्र कोइलाबास सहआयोजक रहेको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस