४ दिनको अवधिमा २२ हजार बढि विद्यार्थीलाई खोप प्रदान
दाङ । तुलसीपुरमा बिहीबार सम्म २२ हजार ४३१ जना विद्यार्थीहरूलाई कोरोना विरुद्धको मोडर्ना खोप प्रदान गरिएको छ । त्यस्तै बुधबार १ हजार २१२ जना विद्यार्थीलाई मोडर्ना खोप प्रदान गरिएको उपमहानगरको फोकल पर्सन विमल केसीले जानकारी दिए ।
उनका अनुसारमा तुलसीपुरमा हालसम्म १२ देखि १७ वर्ष सम्मका २२ हजार ४३१ जना विद्यार्थीहरूलाई खोप प्रदान गरेको छ । त्यस्तै बिहीबार २० गते वार्ड नं ८ , ११ , १२ का विद्यालयमा खोप लगाउने कार्यक्रम रहेको उनले जानकारी दिए ।
त्यसैगरी राप्ती प्रादेशिक अस्पतालमा विदेश जाने पासपोर्ट र भिसा कागजात भएका ९५ जनालाई जोन्सन खोप लगाइएको समेत उनले बताए । यसैगरी उपमहानगरमा हालसम्म कुनै पनि खोप नलगाएका १६८ जनालाई कोभिसिल्ड पहिलो खोप र १२ जनालाई अतिरिक्त खोप प्रदान गरिएको फोकल पर्सन केसीले जानकारी दिए ।
बिहीबार राप्ती प्रादेशिक अस्पताल र मेट्रो अस्पताल बाट हाल सम्म कुनै पनि खोप नलगाएका व्यक्तिहरूलाई कोभिसिल्ड खोप लगाउने कार्यक्रम रहेको उनको भनाइ छ । त्यस्तै तुलसीपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्य २ जना विद्यार्थीहरू रहेका छन् ।
तुलसीपुरमा हाल १९६ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन्, भने ५७० जना निको भएका छन् । त्यस्तै गत पुस १८ देखि हाल सम्म २ हजार १६७ जनाको कोरोना परीक्षण गर्दा ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो, भने एक जनाको मृत्यु भएको छ ।