कर्मचारीलाई कोरोना पुष्टि भएपछि ३ दिनसम्म खोप सेवा बन्द

दाङ । तुलसीपुर ८ अश्वारमा रहेको मेट्रो अस्पतालमा खोप सेवा कार्यक्रम स्थगित भएको छ । अस्पतालको खोप शाखामा कार्यरत कर्मचारीहरूमा संक्रमण देखा परेपछि ३ दिन सम्म खोप सेवा कार्यक्रम स्थगित गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश साहुले एक सूचना जारी गर्दै आँउदो विहीबार सम्मका लागी खोप कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् । अस्पतालबाट कोरोना संक्रमण विरुद्धको खोप कार्यक्रम भइरहेको अवस्थामा कर्मचारीहरू संक्रमित भएपछि स्थगित गरिएको सूचनामा उल्लेख छ ।
त्यस्तै तुलसीपुरमा सोमबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ११९ जनाको कोरोना परीक्षण गर्दा ३६ जनामा संक्रमण पुष्टि भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । गत पुस १८ देखि यता १६५१ जनाको कोरोना परीक्षण गर्दा ५७५ जनामा संक्रमण पुष्टि भएको छ ।
अहिले तुलसीपुरमा सक्रिय संक्रमित सङ्ख्या ३२२ जना रहेको छ, भने २५२ जना निको भएका छन् । त्यस्तै सक्रिय संक्रमित मध्य ३१८ जना होम आइसोलेसनमा र ४ जना अस्पतालमा भर्ना भएको उनले जानकारी दिए ।
त्यस्तै कोरोना संक्रमणबाट हाल १ जनाको मृत्यु भएको छ । तुलसीपुरमा पहिलो मात्रा लगाएको सङ्ख्या १ लाख १३४० पुगेको छ, भने दोस्रो मात्रा पुरा गर्नेको सङ्ख्या ९५ हजार २७७ पुगेको छ ।