स्व. नेता खुमबहादुर खड्काको सम्झनामा राष्ट्रिय टेबल टेनिस प्रतियोगिता भोलिबाट सुरु हुँदै
![](https://sajhatimes.com/wp-content/uploads/2021/12/khum-b-khadka.jpg)
दाङ । युथस अफ तुल्सिपुर क्लबको आयोजनामा दाङका स्व. नेता खुमबहादुर खड्काको सम्झनामा दाङको तुलसीपुरको कभर्ड हलमा राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगिता भोलि पुस १६गतेदेखि १८गतेसम्म सन्चालन हुन लागेको अध्यक्ष बसन्त गिरीले बताए । गत वर्ष चैत महिनामा हुने भनिएको प्रतियोगिता कोरोना महामारीका कारण रोकिएको थियो । स्व. खड्काले दाङमा गरेको योगदानको उच्च सम्मान र कदर गर्दै गुमनाम खेलाडीहरुलाई चिनाउने र उनीहरुको मनोबल उच्च बनाउने मुख्य उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको युथस अफ तुलसीपुरका सल्लाहाकार अरुण लहरेले जानकारी दिए ।
स्व. खड्काको तेस्रो स्मृति दिवसका अवसरमा आयोजित उक्त प्रतियोगितामा देशभरका २५ जिल्ला ३ विभागिए टोलीले सहभागिता जनाउने छ । क्लबका सल्लाहकार अरुण लहरेका अनुसार देशभरका करिब २ सय खेलाडी दाङ आउनेछन् । ३ इभेन्टमा खेल हुनेछन् । प्रतियोगिताका विजेताले ५ लाख ४३ हजार नगद, प्रमाणपत्र र पदक हात पार्ने आयोजकले जनाएको छ।
कार्यक्रममा देशभरका खेल बिज्ञहरुको पनि उपस्थिती रहने छ । तुलसीपुरको कभर्ड हलमा खेलमा सहभागि खेलाडीहरुको बस्ने, खाने र यातायात खर्च आयोजकले व्यहोर्ने छ भने खेलमा सहभागि हुन आउने भाडा पनि उपलब्ध गराउनेछ । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका वनमन्त्री सुरेन्द्र हमालले गर्ने छन् । उद्घाटन पुस १६ गते बिहान ९ बजे हुनेछ ।
तिन दिनसम्म चल्ने खेललाई सफल बनाउन १७ लाख बढी लागत लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । युथस अफ तुलसीपुरकोे आयोजना तथा दाङ जिल्ला टेबल टेनिस संघको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता हुन लागेको हो ।