स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढ्दै

देउखुरी । सरकारले बिमा कार्यक्रममार्फत नागरिकको स्वास्थ्योपचार सुनिश्चित गर्ने लक्ष्य लिएको छ । गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको र सबै जनतालाई सहभागी गराइने योजना छ । उक्त कार्यक्रमअन्तर्गत दाङमा ११ महिनाको अवधिमा करिब १८ हजार जनाले स्वास्थ्य बिमा गराएको छ । गत वर्ष माघ ३० गतेदेखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको थियो । नागरिकले सूचना नपाउँदा र कोरोना महामारीका कारण स्वास्थ्य बिमा कार्यक्रममा प्रभाव पारेको कार्यालयले जनाएको छ । अगामी असारसम्म जिल्लाका साढे दुई लाख नागरिकलाई बिमामा आवद्ध गराउने लक्ष्य छ ।

रु तीन हजार ५०० तिरेर बिमा गरेपछि वर्षभरमा रु एक लाखसम्म स्वास्थ्योपचार लिन सकिने व्यवस्था छ । ६ जनाभन्दा बढी परिवारका सदस्य भए प्रतिसदस्य रु ७०० जम्मा गर्दै जाने र रु दुई लाखसम्मको बिमा रकम सरकारले उपलब्ध गराउने उल्लेख छ ।

द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बिमा

घोराही उपमहानगरपालिका–१७ ले जिल्लामै पहिलोपटक द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बिमा सुरु गरेको छ । वडा कार्यालयले बुधबारदेखि बिमा सुरु गरेको हो । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका अनुसार जनआन्दोलनका घाइते, सहिद र बेपत्तापरिवारका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिएको हो ।

वडा नं १७ का अध्यक्ष खुशीराम चौधरीले वडा कार्यालयले हरेक वर्ष द्वन्द्वपीडितका लागि विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए । चालू आर्थिक वर्षमा द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बिमाको कार्यक्रम अघि अगाडि बढाइएको उनको भनाइ छ । पहिलो चरणमा ३३ जनाको स्वास्थ्य बिमा गर्न लागिएको छ । सरकारको निर्देशन अनुसार ज्येष्ठ नागरिक, क वर्गको अपाङ्गता भएका व्यक्तिको परिवार, एचआइभी एड्स भएका व्यक्तिको परिवार, क्षयरोग भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस