केन्द्रिय महाधिवेशनको तयारी गर्दै एमाले दाङ

गढवा । यहि मंसीर १० गतेदेखि ३ दिनसम्म चितवनमा आयोजना गरिएको नेकपा एमालेको आसन्न दशौं राष्ट्रिय महाधिवेशन सफल पार्न एमाले दाङ ब्यापक तयारीमा जुटेको जिल्ला अध्यक्ष टिकाराम खड्काले जानकारी दिए । एमाले दाङको बुधबार घोराहीमा सम्पन्न बैठकले महाधिवेशन प्रतिनिधि छनोट र जनपरिचालनका काम घनीभुत ढंगले रुपले अगाडी बढाउने निर्णय गरेको पार्टीले जनाएको छ ।

जस अनुसार १ हजार २ सय संगठित सदस्य बराबर एकजना महाधिवेशन प्रतिनिधि छनोट गरिने छ । दाङ जिल्लामा कुल १३ हजार ५ सय ३४ संगठित सदस्य रहेको र बिभिन्न क्षेत्रबाट बढीमा २३ जना महाधिवेशन प्रतिनिधि छनोट गरिने छ । जस अनुसार क्षेत्र नं. १ बाट ६ जना, क्षेत्र नं. २ बाट ८ जना, क्षेत्र नं. ३ बाट ९ जना र दलित निर्वाचन क्षेत्रबाट ३ जना प्रतिनिधि छनोट गरिने छ । प्रतिनिधि छनोट र ब्यापक जनपरिचालनका लागि बिहीबार जिल्लाका चारवटै निर्वाचन क्षेत्रहरुमा क्षेत्रिय भेलाहरु सम्पन्न गरिने भएको एमाले दाङले जनाएको छ । जसका लागि क्षेत्र नं.१ मा पार्टीका केन्द्रिय सदस्य शान्ता चौधरी, राष्ट्रिय परिषद् सदस्य रेवतीरमण शर्मा र जिल्ला उपाध्यक्ष हुकुम बस्नेत खटिएका छन् भने क्षेत्र नं. २ मा पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज नरुलाल चौधरी लगायतका नेताहरु खटिएका छन् ।

त्यस्तै क्षेत्रनं. ३ मा केन्द्रिय नेता छविलाल ओली र क्षेत्र नं.४ मा केन्द्रिय सल्लाहकार परिषदका सदस्य सम्भू गौतम लगायतका नेताहरु खटिएका छन् । पार्टीका बिदेशस्थित संगठनहरुबाट २ महिलासहित ५ प्रतिनिधि छिनोट गरिने र २२ वटा जनबर्गिय संगठनहरुबाट २ महिला सहित ५ जनाका दरले प्रतिनिधि छनोट गरिने बिधानमा ब्यवस्था रहेको कार्यक्रममा बताइएको थियो ।

महाधिवेशन सफल पार्न एमाले दाङले ब्यापक कार्यकर्ता परिचालन गर्ने भएको छ । जिल्लाबाट कुल ८ हजार कार्यकर्ता चितवन उतार्ने एमाले दाङले योजना बनाएको जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिए । जसका लागि प्रत्येक गाउँपालिकाका हरेक वडाहरुबाट एउटा बस, लमही नगरपालिकाले एक वडा दुइ वस र घोराही तथा तुलसीपुर उपमहानगरले एक वडा ३ वटा बस परिचालन गरी कार्यकर्ताको ब्यापक उपस्थिति गराउने निर्णय भएको एमाले दाङले जनाएको छ । त्यसैगरी कृयाशिल जनवर्गिय मोर्चाहरुले एक मोर्चा एक बस कार्यकर्ता उतार्ने योजना रहेको बताइएको छ ।

पार्टीको बिधान सम्मेलनले पारित गरेको बिधानको धारा २२ बमोजिम सीमित प्रतिनिधि छनोट गरिने र तिन प्रतिनिधि बराबर एक महिला अनिबार्य गरेको छ । प्रतिनिधि छनोट प्रकृयाका लागि पार्टीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, सचिव र उपसचिव लगायतको ७ सदस्यिय कार्यदल गठन गरिएको छ । बैठकले गत कार्तिक ६ मा एकै दिन जिल्लका एकसय वडाहरुमा सम्पन्न वडा अधिवेशन र कार्तिक ९ मा सम्पन्न दश पालिका अधिवेशनबाट सर्बसम्मत छानिएका नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ भने अधिवेशन सफल पार्न खटिएका सबै नेताहरुलाई धन्यवाद ज्ञापन गरेको छ । बैठकको सहजीकरण जिल्ला सचिव मनोहर बुढाथोकीले गरेका थिए भने स्वागत हुकुम बस्नेतले गरेका थिए । बैठकलाई पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज नरुलाल चौधरी, केन्द्रिय अनुशासन आयोगका डा.अमर गिरि, पार्टीका केन्द्रिय सदस्य शान्ता चौधरी लगायतले संबोधन गरेका थिए ।

प्रकाशित मिति : २०७८ कार्तिक २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस