एमाले प्रत्यक्षमा एकसिट पनि जित्दैन्ः मेटमणि

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले आउने निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ एकसिट पनि नजित्ने दावी गरेका छन् । लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीले बुधबार बिहान भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधि सभा सदस्यसमेत रहेका चौधरीले भने, ‘१६५ वटा निर्वाचनमध्ये एमालेको कुनै पनि स्थानमा सिट आउने छैन ।’

चौधरीले समानुपातिकतर्फ भने एमालेले १०–१२ सिट ल्याउन सक्ने बताए । उनले एमालेलाई ओली कम्पनीको संज्ञासमेत दिए । चौधरीले आउँदो निर्वाचनमा ओलीबाहेक सबै कम्युनिष्ट पार्टी एक हुने दावीसमेत गरे । ‘कम्युनिष्टहरुबीच एकता वा मोर्चा हुन्छ’, उनले भने, ‘यस्तो एकतामा केपी ओली हुने छैनन् ।’

कम्युनिष्टहरुबीच एकता गर्ने र सकेसम्म उपेन्द्र नेतृत्वको जनता समाजवादी पार्टीसँग पनि सहकार्य गरेर निर्वाचनपछि सबैभन्दा ठूलो पार्टी बन्ने गरी अघि बढीरहेको उनले बताए । उनले अहिलेको सत्ता गठबन्धन निर्वाचनसम्म मात्र नभई निर्वाचनपछि पनि कायम रहने जनाए । ‘जबसम्म हामीले योग्यता, क्षमता निर्माण गर्न सक्दैनौ, तबसम्म यो गठबन्धन कायम रहनेछ,’ चौधरीले भने ।

एमालेमा कम्युनिष्टप्रतिको विचलन आएको उनले बताए । जसले गर्दा नेपालको कम्युनिष्ट आन्दोलन अहिले अत्यन्तै अफ्ठयारो अवस्थामा पुगेको उनले बताए । नेता चौधरीले नेकपा (एकीकृत समाजवादी) निर्माण नभएको भए नेपालको कम्युनिष्ट आन्दोलन समाप्त हुने अवस्थामा पुगेको बताए । ‘कम्युनिष्ट आन्दोलन जटिल अवस्थामा पुगेको थियो’, उनले भने, ‘आज एकीकृत समाजवादी निर्माण गरेर समाप्त हुन लागेको आन्दोलनलाई फेरि पनि हामीले सेफ गरेका छौं ।’

उनले कम्युनिष्ट आन्दोलन जोगाएर आफूहरु सफल भएको बताए । ‘अब, हामी कम्युनिष्ट आन्दोलन समृद्ध बनाउने ठाउँमा पुगेका छौं,’ उनले भने । नेता चौधरीले घनश्याम भुसाललगायत केही नेताहरुले केही समय बाटो बिराएर ओली नेतृत्वको पार्टीमा रहे पनि उनीहरु छिट्टै एकीकृत समाजवादीमा फर्कने दावी गरे । ‘अहिले उहाँहरु रनभुल्ल भएर ओली पार्टीमा हुनुहुन्छ’, उनले भने, ‘एमालेको महाधिवेशन अगाडि नै घनश्याम दाईहरु समाजवादीमा आउनुहुन्छ ।’

उनले प्रधानान्याधिशले मन्त्री बनाइदिनुस् भनेर प्रेसर दिएको भन्ने कुरा सत्य भएको भए, त्यो गलत भएको बताए । ‘बाहिर आएजस्तो सेटिङ, बार्गेनिङको कुरा सांचो हो भने प्रधानन्यायाधीशले पदबाट राजीनामा दिनुपर्छ, होइन भने न्यायलयप्रति यसरी लाग्नु हुँदैन’, उनले भने । उनले यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल फर्केपछि एक खालको दृष्टिकोण बनाउने जनाए ।

प्रकाशित मिति : २०७८ कार्तिक १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस