हिरा डाँगी स्मृति कप फूटबल सुरु, युएनबिसीको बिजयी सुरुवात

दाङ । दाङको तुलसीपुरमा सर्वाधिक पुरस्कार राशीको प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबल प्रतियोगिता २०७८ बुधबारदेखि सुरु भएको छ । हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजनामा तुलसीपुर ५ अरनिको खेल मैदानमा संचालित प्रतियोगिताको नेपाली काग्रेस तुलसीपुर नगर कमिटीका अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि सुरेश हमालले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हमालले स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको सिङ्गो खेलकुद क्षेत्र मानव जिवनको अभिन्न अङ्ग भएको बताए ।

खेलकुद राष्ट्रको सान र गौरव हो यसको उच्च आदर्शलाई सबैले आत्मसाथ गर्न सके मानव सभ्यता जत्तिकै पुरानो खेलकुद क्षेत्रले अपेक्षाकृत रुपमा फड्को मार्ने बताए । साथै उनले हिरा डाँगी फाउन्डेसनले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको बिकासका लागि लिएको लक्ष्य र उद्देश्यमा आफ्नो पुर्ण सहयोग र सहकार्य रहने बताए । त्यस्तै विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले प्रतियोगिताको पुर्ण सफलताको शुभकामना ब्यक्त गरेका थिए । फाउन्डेसनका अध्यक्ष प्रकाश डाँगी बमको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

यसैबिच प्रतियोगिताको बुधबार सम्पन्न उद्घाटन खेलमा युएनबिसी घोराहीले विजयी सुरुवात गरेको छ । युनाईटेड युथ क्लब तुलसीपुरलाई शुन्यका बिरुद्ध ५ गोलको फराकिलो अन्तरले पराजित गर्दै बिजयी सुरुवात गरेको हो । उल्लेख दर्शकको उपस्तिथिमा भएको खेलमा युएनबिसीका जर्सी १० एन्जस रोकाले ह्याट्रिक गर्दै ५ गोल गरेका थिए । यस्तै प्रतियोगिता अन्तरगत बिहीवार दुई खेल हुनेछन । बिहान ७ बजे एसएसएफ तुलसीपुर र मेघा युथ क्लव घोराही भिड्नेछन् भने दोस्रो खेलमा सक्सेस फुटबल क्लब तुलसीपुर र शान्तिनगर फुटबल क्लव भिड्ने प्रतियोगिताका संयोजक केशब चौधरी मिङमाले जानकारी दिए ।

२०७६ साल चैत ३ गतेका दिन एक समूहको आक्रमणमा परि ज्यान गुमाएका फुटबलका होनहार खेलाडी डाँगीको सम्झनामा स्थानीयस्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र ब्यवसायिक फूटबल खेलको विकासमा थप टेवा र्पुयाउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण लामो समय ठप्प बनेको स्थानीयस्तरको खेल गतिविधिलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउँदै संचालन गरिन लागिएको प्रतियोगितामा ईन्डियाको सहारा क्लब, अन्य जिल्ला र स्थानीय गरि १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ६० हजार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका वेस्ट प्लेयर खेलाडी, बेस्ट किप्पर, बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, हाई स्कोरर, बेस्ट कोच, बेस्ट मार्चपासलाई जनही ५ हजार तथा ट्रफी ले पुरस्कृत गरिनेछ । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई ट्रफिको ब्यबस्था गरिएको छ । कात्तिक १६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउट प्रणालिका आधारमा खेलाईने छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १० गते बुधवार
प्रतिक्रिया दिनुहोस