भारतलाई हराए नेपाल फाइनलमा

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज आइतबार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले तेस्रो खेलमा बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार राति पाैने १० बजे सुरु हुनेछ ।

आज साफमा भारतलाई हराए नेपाल फाइनल पुग्नेछ । यसअघि नेपालले आयोजक माल्दिभ्स र श्रीलंकालाई पराजित गरिसकेकाे छ । भारत भने पहिलो जितको खोजीमा छ । लगातार दुई खेलमा अंक बाँडेको भारत नेपालसँग तीन अंक खोस्ने दाउमा छ सात पटकको च्याम्पियन भारतले यसअघि बंगलादेश र श्रीलंकासँग बराबरी खेलेको थियो । 

साफ जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाली टाेली भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्न चाहन्छ । सिंगल राउन्ड रोबिन लिगको शीर्ष दुईले उपाधिका लागि खेल्नेछन् । प्रतियोगितामा नेपाल २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ । पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो ।

भारत २ खेलमा २ अंक जोडेर चौथो स्थानमा छ । नेपालले हालसम्म भारतसँग २१ खेल खेलेको छ । जसमा भारतले १४ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।नेपालले भदौमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा नेपालले एक खेल बराबरी खेल्दा एक खेलमा हार व्यहोरेको थियो ।

प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस