श्रीलंकामाथि नेपालको उत्कृष्ट प्रदर्शन

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलङ्कालाई हराएको छ । गएराति माल्दिभ्समा भएको खेलमा श्रीलङ्कालाई ३–२ गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपालको जितमा सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले एक÷एक गोल गरे । श्रीलङ्काका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एकरएक गोल फर्काए । नेपालका सुमन लामाले खेलको ३३औं मिनेटमा गोल गरी सुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै ५१औं मिनेटमा अञ्जन विष्टले गोल गरेपछि नेपालले २–० को अग्रता बनायो । तर, श्रीलङ्काका ह्यामिल्टनले ५७औं मिनेटमा एक गोल फर्काए । परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका आयुष घलानले खेलको ८६औं मिनेटमा गोल गरेपछि नेपालले ३–१ को अग्रता बनायो ।

खेलको इञ्जुरी समयमा श्रीलङ्काका डी सिल्भाले पेनाल्टीमा एक गोल गरेका थिए । यो जितपछि नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले २ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १–० ले हराएको थियो । श्रीलङ्का पहिलो खेलमा बङ्गलादेशसँग १–० ले पराजित भएको थियो । अब नेपालले तेस्रो खेलमा आइतवार भारतसँग खेल्नेछ ।

प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस