नेपालले आज श्रीलंकाको सामना गर्दै

काठमाडौँ । नेपालले जारी साफ च्याम्पियन्सिपमा सुखद शुरुवात गरेको छ । नेपालले शुक्रबार आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । नेपालले अब आफ्नो दोस्रो खेल आज श्रीलंकासँग खेल्दै छ । आजै दिउँसो बंगलादेश र भारत खेल्दै छन् । यसअघि बंगलादेशले श्रीलंकालाई १–० ले गोल अन्तरले पराजित गरेर विजयी शुरुवात गरेको छ ।

नेपालले अर्को खेल असोज २४ गते भारतविरुद्ध खेल्ने छ भने लिग चरणको अन्तिम खेलमा नेपालले असोज २७ गते बंगलादेशको सामना गर्नेछ । बंगलादेशविरुद्धको खेल नेपाली समय अनुसार दिउँसो ४:४५ मा सुरु हुने छ भने श्रीलंका र भारतविरुद्धको खेल राती ९:४५ बजे सुरु हुनेछ ।

साफ च्याम्पियनसिपको इतिहासमा नेपाल अहिलेसम्म ५ पटक सेमिफाइनल खेलको छ भने फाइनलसम्म पुगेको छैन ।साफ च्याम्पियन्सिपको इतिहासमा अहिलेसम्म भारतले सबैभन्दा बढी ७ पटक साफको उपाधि जितेको छ भने माल्दिभ्सले २ पटक र श्रीलंका, बंगलादेश र अफगानिस्तानले एक एक पटक उपाधि जितेका छन् ।नेपालसहित भुटान र पाकिस्तानले अहिलेसम्म साफ च्याम्पियनसिप जित्न सकेका छैनन् ।

श्रीलंकाविरुद्ध संयमित भएर खेल्ने छौं- प्रक्षिशक अलमुताइरी

नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले श्रीलंकाविरुद्ध जितको लागि खेल्ने बताएका छन् । खेल अघिको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अल्मुताइरीले श्रीलंका वरियतामा नेपाल भन्दा पछाडी रहेपनि आफुहरु संयमित भएर खेल्ने बताएका छन् ।

उनले माल्दिभ्सविरुद्धको खेललाई बिर्सेर श्रीलंकाविरुद्ध खेल्ने बताए ।

प्रकाशित मिति : २०७८ असोज १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस