खुला फुटबल प्रतियोगीता सुरु, टिएफसीको विजयी सुरुवात
तुलसीपुर । दाङ तुलसीपुरको टरिगाउँमा आज शनिबारदेखि जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको खुला फुटबल प्रतियोगीता २०७८ सुरु भएको छ । टरिगाउँ युवा क्लव तुलसीपुर १२ को आयोजनामा सञ्चालित प्रतियोगीताको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेयर पाण्डेले खेलकुद क्षेत्रलाई देशको समृद्धिसँग जोडेर लैजानु पर्ने बताए । खेलकुद राष्ट्रको सान र गौरव हो यसलाई खेल पर्यटनको गन्तव्यको रुपमा बिकास गर्न सके देश समृद्धिको दिशा तर्फ उन्मुख हुने उनको भनाई थियो । साथै उनले यसका लागि सबैको चासो र चिन्तन त्यत्तिकै आवश्यक रहनु पर्ने समेत बताए । टरिगाउँ युवा क्लवका अध्यक्ष कबिन रजौरेको अध्यक्षता भएको कार्यक्रममा विशिष्ट अतिथिद्वय दाङ जिल्ला फुटबल संघ अध्यक्ष सुशील श्रेष्ठ र तुलसीपुर उपमहानगरपालिका वडा नं। १२ का अध्यक्ष सूर्य बहादुर डाँगीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्लबका सचिव शिव बुढाथोकीको स्वागत रहेको कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए । यसैबीच प्रतियोगिता अन्तरगत शनिबार भएको उद्घाटन खेल आयोजक टरिगाउँ युवा क्लवले बिजयी सुरुवात गरेको छ । उल्लेख्य दर्शकले खचाखच भरिएको खेलमैदानमा भएको रोमाञ्चक अनि शानदार खेलमा रोयल बिजौरीलाई शून्यका विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै टरिगाउँ युवा क्लवले बिजयी सुरुवात गरेको हो । टरिगाउँका तर्फबाट जर्सी नं। ७ का खेलाडी अर्जुन नेपालीले खेलको ३०औं मिनेटमा गोल गर्दै टिमलाई एक शुन्यको अग्रता दिलाए भने ८६औं मिनेटमा थप गोल गर्दै दुई शुन्यको जित दिलाउन सफल भए ।
प्रतियोगिता अन्तरगत आईतबार बिहान सात बजे ज्ञान ज्योती तुलसीपुर र बबई युथ क्लव कचिला भिड्ने छन् । स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीको पहिचान बिकासमा टेवा र्पुयाउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १३ टिमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष कबिन रजौरेले जानकारी दिए ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण ठप्प बनेको जिल्लाको खेल गतिविधिलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पूर्ण मापदण्ड अपनाउँदै तुलसीपुर १२ मा रहेको टरिगाउँ खेल मैदानमा जारी प्रतियोगीताको बिजेता टिमले नगद १ लाख १५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता र तृतीय स्थान हाँसिल गर्ने टिम ले क्रमशः नगद ५० हजार र २० हजार मेडल तथा प्रमाणपत्र हात पार्ने छन् । त्यस्तै ब्यक्तिगत बिधा तर्फ प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार ५ सय नगद पुरस्कारले पुस्कृत गरिने छ ।