दाङमा करिब ३४ प्रतिशतलाई खोप

दाङ । दाङमा करिब ३४ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन् । जिल्लामा कुल जनसंख्याको करिब एक लाख ३० हजार बढीले खोप लगाएको स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योती वलीले जानकारी दिए । यो कुल जनसंख्याका करिब ३४ प्रतिशत हो ।

जिल्लामा २०६८ को जनगणना अनुसार करिब ६ लाख जनसंख्या रहेको छ । कारोना विरुद्धको खोप अभियान शुरु गरिएको बितेको सात महिनाको अवधिमा कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन र एष्ट्राजेनिकाको खोप लगाइएको हो ।

गतवर्षको फागुनको अन्तिम सातादेखि शुरु गरिएको खोप अभियानमा अहिलेसम्म फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, संचारकर्मी, जनप्रतिनिधि र ५० वर्ष माथिका नागरिकलाई खोप लगाइएको फोकल पर्सन वलीले जानकारी दिए ।

यस्तै कक्षा १२ को परिक्षा दिने दश हजार बढी विद्यार्थीले पनि खोप लगाएका छन् । उहाँका अनुसार कोभिशिल्ड र एष्ट्राजेनेका ४० हजार ९२८, भेरोसेल ५५ हजार २४१ र जोन्सन एण्ड जोन्सन ३४ हजार बढीले लगाएका छन् ।

जिल्लामा खोप पर्याप्त मात्रामा प्राप्त भएमा दुई महिनाभित्रै खोप सबैलाई लगाउन सकिने स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले बताए । नयाँ युगबोधबाट

प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस