विनियोजन विधेयक राष्ट्रियसभामा टेबुल

काठमाडौं । विनियोजन विधेयक, २०७८ राष्ट्रियसभामा टेबुल भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधबीच आज विधेयक राष्ट्रियसभामा देबुल भएको हो । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभा समक्ष टेबुल गरेका छन् ।

अब राष्ट्रियसभा सदस्यले ७२ घण्टाभित्र विनियोजन विधेयकमाथि संशोधन प्रस्ताव राख्न सक्नेछन् । र, सांसदहरुको संशोधनसहित मन्त्रालयत रुपमा छलफल गरेर पारित गरेपछि पुनः प्रतिनिधिसभा, सभामुख हुँदै राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पुग्नेछ र बजेट कार्यान्वयनमा जानेछ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले विनियोजन विधेयकमाथि दफावार छलफल समूहीकृत हुने र दफावार छलफल यही असोज ७ गते दिउँसो २ बजे बस्ने बैठकमा हुने गरी समय तोकेको घोषणा गरेका छन् ।

यसअघि राष्ट्रिय सभा बैठकको प्रारम्भमा बोल्दै एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले सरकारले लोकतन्त्र र पार्टीहरुलाई कमजोर बनाउनका लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको र अध्यादेश लागु गराउनका लागि सभामुखको भूमिका हुनु गलत आरो लगाए ।

उनले एमालेले कारबाही गरेका सांसदहरुको सूचना सभामुखले हालसम्म टाँस नगरेको भन्दै राष्ट्रियसभा बैठकको अवरोध जारी राख्ने बताए ।

प्रकाशित मिति : २०७८ असोज ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस