हस्तकलाबाट स्वरोजगार बन्दै महिलाहरु
दाङ । हस्तकलाको माध्यमबाट विभिन्न सामग्री बनाएर महिलाहरु घरभित्रै स्वरोजगार बन्न थालेका छन् । तुलसीपुर उपमहानगरपालिका १९ विजौरी निवासी खिमा विकले बाँसबाट सामान बनाउन सिकेपछि अहिले आफै स्वरोजगार बनेकी छिन् । विकले घरको काम सकेपछि हस्तकलाको सामग्री बनाउने गर्छिन् । आफुले उत्पादन गरेका सामाग्री बेच्ने र उद्यमी बनेर पैसा कमाउने योजना खिमा विकको छ । विकको घर वरिपरि बाँसघारी छ ।
उनले बाँसबाट डोको, छिट्वा मात्रै बुनेको देखेकी थिईन् । घर बनाउँदा होस् या बार बेर्दा बाँस काम लाग्छ भन्ने उनलाई लागेको थियो तर, बाँसको प्रयोग यतिमा मात्रै भने सीमित छैन भन्ने उनलाई थाहा नै थिएन । भित्ते घडीदेखि बाँसकै टेबुल, कुर्सीसम्म बन्छ भन्ने कुरा तालीम लिएपछि मात्रै थाहा भयो । विक अहिले बाँसबाट हस्तकलाका विभिन्न सामाग्री बनाउन सक्ने भएकी छिन् । “घर धन्दाको कामपछि खाली हुन्थे तर हातमा अरु सीप नभएकोले खाली बस्नुपथ्र्यो, तर अहिले फुर्सद नै हुँदैन” विकले भनिन् । अहिले बचेको समयमा बाँसका सामान बनाउन थालेको उनले बताईन् । “राम्रो बनाएर दिन सक्ने हो भने महंगोमा बिक्री हुने रहेछ, मेरो हातमा अझै निखारता आएको छैन तर आम्दानी राम्रै भैराखेको छ” उनले भनिन् ।
कृष्णमती पुनलाई पनि अब दुई चार रुपैयाँका लागि अरुसँग हात थाप्नुपर्ने अवस्थाको अन्त्य हुन्छ भन्ने लागेको छ । उनी पनि गृहिणी हुन् । पुनको पनि अहिले हस्तकलाको सामग्री तयार पारेर आयआर्जन गर्न सक्ने क्षमता विकास भएको छ । तुलसीपुर उपमहानगरपालिकाले कृष्णमती र खिमासहित पाँच सय युवा तथा उद्यमीलाई स्वरोजगार बनाउन थालेको छ । कोरोना भाइरसका कारण स्वदेशमा रोजगारी गुमाएका, विदेशबाट रोजगारी गुमाएर फर्किएका तथा बेरोजगार युवालाई लक्षित गरेर स्वरोजगार बनाउने अभियान चलाएको हो । विभिन्न सीप युक्त तालिम दिएर आफ्नै ठाउँमा स्वरोजगार भएका उदाहरणहरु छन् ।
तुलसीपुर बहुप्राविधिक शिक्षालयले मुख्यमन्त्री ग्रामीण तथा रोजगार कार्यक्रम लुम्बिनी प्रदेशको सहयोगमा तालिम सञ्चालन गरेर युवालाई उद्यमी बनाउन थालेको हो । बाँसबाट विदेशी पर्यटकलाई आकर्षण गर्न सक्ने धेरै सामग्री बनाउन सकिन्छ । तुलबहादुर केसीसँग बाँसबाट सजिलै सँग सामग्री बनाउन सकिने र यसबाट आम्दानी गर्न सकिने अनुभव छ । “बाँसबाट के बन्दैन, सबैथोक बन्छ, यसलाई बनाउन जान्नुपर्छ, हामीले बनाएको सामग्री सरकारले किनिदिएर प्रोत्साहन दिए झनै राम्रो हुने थियो” तलसीपुरका उद्यमी तुलबहादुर केसीले भने । बाँसबाट निर्मित सामग्रीको बजारीकरणमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
कोरोना भाइरसका कारण रोजगारी गुमाएकाहरुलाई स्वरोजगार बनाउन कार्यक्रम उपयोगी भएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ । बन्दाबन्दीको अवस्थामा पनि सीप सिकेर त्यसको सदुपयोगबाट आम्दानी गर्न सकिने विश्वास स्थानीय सरकारको छ । “हामी सीप प्रदान गरेर स्वरोजगार बनाउन चाहन्छौं र यो दिशामा अघि बढेका छौं, तालिम दिएर सीप दिने र सीप सिकेकाहरुले उद्यममा संलग्न हुने व्यवस्थापन गरेका छौं” तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले भने ।सीप सिकाउदा स्वरोजगारी सिर्जना गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले बताए ।
कोरोनाका कारण र त्यसलाई नियन्त्रण गर्न गरिएको लकडाउनले गर्दा धेरैले रोजगारी गुमाउन ुपरेको छ । रोजगारी गुमाएकाहरुलाई स्वरोजगार बनाउन अन्य स्थानीय सरकारले पनि यस्तै अभियान चलाउन सके उद्यम विकासमा टेवा पुग्ने थियो । यस्ता कार्यक्रमहरुले महिलाहरु घरको सबै काम सकेर समेत आफै स्वरोजगार बन्न सक्ने देखिन्छ ।