एमालेको अवरोधकैबीच प्रतिनिधि सभाबाट बिनियोजन विधेयक पास

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको नाराबाजीबीच विनियोजन विधेयक २०७८ प्रतिनिधिसभा बैठकबाट पारित भएको छ । नाराबाजीबीच बैठकलाई कार्यसूचीमा प्रवेश गराएका सभामुख अग्निप्रसाद सापकोटाले विधेयक निर्णायर्थ प्रस्तुत गरेका थिए । सो विधेयक बहुमतले पारित भएको हो ।

विनियोजन विधेयकमाथिको छलफलको सबै प्रक्रियामा नेमकिपाका सांसद प्रेम सुवालले मात्रै भाग लिए । एमालेका सांसदहरु नारावाजीमा केन्द्रित भए भने सत्तारुढ गठबन्धनका कुनैपनि सांसदले छलफलमा भाग लिएनन् ।

सांसद सुवालले विनियोजन विधेयक २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीका प्रस्ताव पेस गरेका थिए ।

त्यसपछि अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएका थिए । त्यसलगत्तै सभामुखले विधेयक निर्णायर्थ प्रस्तुत गरेर पारित भएको घोषणा गरेका हुन् । विनियोजन विधेयक पास भएसँगै अब सरकारलाई बजेट खर्च गर्ने बाटो खुला भएको छ ।

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस