चीनबाट थप ४४ लाख कोरोनाविरुद्धको खोप आज काठमाडौँ आउँदै

काठमाडौं । सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप आज ल्याइँदैछ । खोप दिउँसो दुई बजे आइपुग्ने छ । खोप ल्याउन गएराती नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले खरिद गरिएको खोप आज दुई बजे चीनबाट नेपाल आइपुग्ने जानकारी दिए ।

सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि बिहीबार राति ११ बजे वाइडबडी विमान चीनतर्फ गइसकेको बताए । यसअघि निगमको जहाज खोप लिन बुधबार नै जाने र आज खोप ल्याउने बताइएको थियो । तर पछि शंसोधन गर्दै एक दिनपछाडि सारिएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् ।

भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज मात्र हुन्थ्यो । जसका कारण एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने गरिएको थियो । तर अहिले चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएको छ । जसका कारण एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिने भएको हो । भेरोसेल खोप सुरुमा एक भाइलमा एक डोज, त्यसपछि एक भाइलमा दुई र अहिले एक भाइलमा पाँच डोज आउन थालेको हो ।

नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।

प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस