निपाह भाइरसप्रति सचेत रहन मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले भारतसँग खुला सिमा भएकाले यहाँ पनि फैलिनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताउनुभयो । भारतको केरला राज्यमा केही दिनदेखि निपाह भाइरसको सङ्क्रमण देखिएको छ ।
नेपालमा अहिलेसम्म उक्त भाइरसका सङ्क्रमित फेला नपरेको भन्दै उनले निपाह भाइरस एक प्रकारको पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग लाग्ने भाइरस भएको बताए । हयस भाइरस प्राकृतिकरुपमा ‘फूट ब्याट’ भन्ने प्रजातिको चमेरामा पाइन्छ । निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ । सङ्क्रमित चमेराबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने गर्दछ ।
निपाह भाइरसबाट बच्नका लागि फलफूल राम्रोसँग पखालेर मात्र खाने, तरकारी सकेसम्म पकाएर खाने, गाइबस्तुको गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर मात्र पिउने, बेलाबेलामा साबुनपानीले हात धुने, भीडभाडमा जाँदा मास्क लगाउने गर्नुपर्दछ । मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार उक्त भाइरसबाट ४५ देखि ७५ प्रतिशत मानिसमा मृत्यु हुने जोखिम रहेको छ ।