सभामुखले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको छ ।  सदनमा देखिएको अवरोध हटाउन सोमबार अपरान्ह बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको हो । ‘आजको सर्वदलीय बैठक निष्कर्षविहीन भयो’, बैठकमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले भने । 

प्रमुख प्रतिपक्षी दल एमालेलाई सहभागी गराएर सर्वदलीय बैठक राख्न सभामुख सापकोटालाई बैठकमा सहभागी नेताहरूले सुझाव दिएका छन् । सोमबारको बैठक एमालेले बहिस्कार गरेको थियो । ‘प्रतिपक्षी दललाई सहभागी गराएर बैठक राख्न सुझाव दियौँ’, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले भनिन् । सदनको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक राखेका हुन् ।  

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहभागी थिए ।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस