लोक सेवा आयोग विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको अवरोधबीच राष्ट्रियसभाको दोस्रो बैठकले लोकसेवा आयोग विधेयक–२०७८ पारित गरेको छ। राष्ट्रियसभाको दोस्रो बैठक पनि एमालेका सांसदहरुले अवरुद पारेका थिए। तर, अवरोधबीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोकसेवा आयोग विधेयक–२०७८ निर्णयार्थ पेश गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिए। सो प्रस्ताव निर्णयार्थ पेश गर्दै बहुमतले पारित भएको राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले घोषणा गरे।

यसअघि एमालेकी सांसद कोमल वलीले सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा नदिएसम्म बैठक सुचारु हुन नदिने अडान राखेकी थिइन्। उनले परमादेशबाट सरकार र अध्यादेशबाट पार्टी फुटाउने कामले लोकतन्त्रलाई समाप्त गर्ने भएकाले आफ्नो पार्टीले सभामुख सापकोटाको आफ्नो दल फुटाउने षडयन्त्रविरुद्ध उभिनुपरेको पनि पटक-पटक दोहोर्‍याइन्।

एमालेका सांसदहरुको अवरोधबीच राष्ट्रियसभाको दोस्रो बैठकले राष्ट्रियसभाका पूर्व-सांसद रुक्मशमशेर राणाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। गत भदौ २६ गते काठमाडौंमा निधन भएका उनी २०४८ सालमा राष्ट्रियसभा सदस्यमा मनोनीत थिए। राष्ट्रियसभाको अर्को बैठक ३० भदौका दिन बिहान ११ बजे बस्नेछ।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस