बंगलादेशसँग नेपालको बराबरीमा रोकियो

काठमाडौं ।  बंगलादेशविरुद्धको दोस्रो मैत्रीपुर्ण खेलमा नेपालले घरेलु मैदानमा निराशाजनक बराबर खेलेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबर खेलेका हुन्। दुबै टोलीले पहिलो हाफमा केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। दोस्रो हाफमा भने सुस्त खेलेका दुबै टोलीले खासै उपयोग मौका बनाउन सकेनन्। यसअघि पहिलो मैत्रीपुर्ण खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो। नेपालका लागि दुबै गोल डेब्यु खेलाडी प्रीति राई र सविता राना मगरले गरेका थिए।

खेलको ९ मिनेटमा नेपालले पहिलो मौका बनायो । डिफेण्डर अमृता जैशीले अगाडि बढेर डिबक्स बाहिरबाट हानेको प्रहार गोलरक्षक रुप्ना चक्माको हातमा पुग्यो। १० औं मिनेटमा अनिता बस्नेतको पासमा सरु लिम्बुले डिबक्स बाहिरबाट हानेको प्रहार चक्माले बाहिर पन्च गरिन्।खेलको ७ मिनेटमा बंगलादेशले गोल गर्ने सुनौलो अवसर गुमायो। गोलकिपर अन्जना रानाले डिबक्स भित्र फुत्काएको बललाई श्रीमोती सर्कारले खाली पोस्टमा गोल गर्न सकिनन्। उनको प्रहार अघिनै डिफेण्डर गीता रानाले बल खोसेकी थिइन्।

खेलको ३० मिनेटमा बंगलादेशकी श्रीमोती सर्कारले डिबक्स बाहिरबाट हानेको प्रहार क्रसबारमाथि लागेर बाहिरियो। मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटिको कप्तानीमा पहिलो मैत्रीपूर्ण खेलबाट तीन खेलाडी परिवर्तन गरेका छन्। गोलकिपर अन्जना राना मगर, रश्मि घिसिङ र अनिता बस्नेतले सुरुवाती ११ मा स्थान बनाएका छन्। यसअघिको खेलमा एन्जिला तुम्बापो सुब्बा, मन्जली कुमारी  योन्जन र  सबिता राना मगरलाई मौका दिइएको थियो। दोस्रो मैत्रीपूर्ण खेलमा प्रशिक्षक ग्यारीले रजिना थोकरलाई डेब्यु गराएका थिए। खेलको ८९ मिनेटमा रजनी प्रीति राईको स्थानमा मैदान प्रबेश गरेकी थिइन्।

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस