दाङका २१ जना जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी
दाङ । दाङका स्थानीय तहका २१ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी दल रोजेका छन् । २१ जना जनप्रतिनिधिहरूले प्रदेश निर्वाचन कार्यालय दाङमा सनाखत गरेको कार्यालय प्रमुख निमराज भट्टराईले जानकारी दिए ।
यसरी दल परिवर्तन गर्नेमा एक जना गाउँपालिका उपाध्यक्ष, एक जना वडा अध्यक्ष, १७ जना वडा सदस्य र २ जना जिल्ला समन्वय समितिका सदस्य रहेका छन् । गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरी, घोराही उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष भीमबहादुर सार्की र विभिन्न स्थानीय तहका १७ जना वडा सदस्यले माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् ।
त्यस्तै जिल्ला समन्वय समिति दाङका २ जना महिला सदस्य सावित्रा रिजाल र तिला कुमारी बुढाले समाजवादी पार्टी रोजेका छन् । दाङमा नेकपा एमालेबाट निर्वाचित भएका २ सय ९ जना जनप्रतिनिधि रहेका थिए । ति मध्य २१ जना नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।
निर्वाचन आयोगले दल रोज्नका लागि मंगलबारसम्म समय दिएको थियो । त्यसैगरी, लुम्बिनी प्रदेश सभा सदस्य तर्फ पाल्पाकी रमा घर्तीले नेकपा एकीकृत समाजवादी पार्टी रोजेकी छन् ।