माओवादीको बेईमानीका कारण सरकार ढल्यो : पोख्रेल

दाङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले माओवादीका नेताहरूले इमान देखाउन नसक्दा आफ्नै नेतृत्वको सरकार ढालेको आरोप लगाए ।

शनिबार दाङको तुलसीपुरमा नेकपा एमाले दाङ ३ नम्बर निर्वाचन क्षेत्रको भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले निर्वाचनको बेला जनताको सामु हामी एउटै चुनावी घोषणा पत्रमा चुनाव लडेको भन्दै हिड्नेहरू अहिले कुर्सीका लागि झगडा गरेर आफ्नै नेतृत्व सरकार ढालेर जसका विरुद्ध गएर भोट मागिएको थियो, उसैलाई प्रधानमन्त्री बनाउने काम प्रचण्ड, माधव नेपालले गरेको समेत आरोप लगाए । उनले भने, ‘माओवादीहरूको नेताहरू बेमानी सँगै जनता माथि गद्दार गरे । हामी एउटै चुनावी घोषणा पत्रबाट चुनावी लडेका छौँ, भन्ने ५ वर्ष स्थिर सरकार दिन्छौँ, मुलुकमा विकास निर्माण गछौँ । जनताको बिचमा निर्वाचनमा कांग्रेसले काम गर्न सक्दैन भनेर भोट माग्ने नेताहरूले राम्रो काग गर्ने सरकारलाई ढालेर कामै गर्न नसक्ने शेरबहादुर देउवालाई जिम्मा लगाएर पार्टी बनाउन आउने, भोट माग्न आउने ?’ त्यसैगरी निवर्तमान मुख्यमन्त्री पोखरेलले नेकपा एमालेको विरुद्ध षड्यन्त्र र मोर्चा बन्दी गरेकाहरू अब जनताको बिचमा जान नसक्ने र उनीहरूलाई जनताले सजाय दिने समेत बताए ।

त्यस्तै उनले षड्यन्त्र पूर्वक अदालतबाट प्रधानमन्त्री तोक्ने काम भएको भन्दै यो काम प्रजातन्त्र, लोकतन्त्र र जनाको जनादेशका विरुद्धमा भएको समेत आरोप लगाए । उनले भने, ‘अहिले कसले धोका दियो, चिन्ता गर्नु पर्दैन । सरकार गयो चिन्ता गर्नु पर्दैन । हामी त्यो गद्दारी गर्नेहरूलाई जवाफ दिने गरी जनताको बिचमा जाने छौँ । जनताको साथ र सहयोगबाट फेरि हामी सरकारमा पुग्ने छौँ । त्यो सरकार कसैले षड्यन्त्र गरेर ढाल्न सक्दैन । जनताको पक्षमा राम्रो काम गर्ने हामीलाई मौका प्राप्त हुने छ ।’ त्यसैगरी उनले एमालेले कुनै पनि पार्टीको बैशाखी नटेकेर एमालेको एक्लो आटमा निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा, प्रदेशसभा र ४ वटा स्थानीय तहमा चुवान जित्ने समेत बताए । त्यस्तै उनले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेश कांग्रेस र माओवादी केन्द्रका लागी पनि घातक भएको बताए । उनले अहिलेको सरकारले एमाले र जसपा फुटाउनका लागी अध्यादेश ल्याएको बताउँदै तर, यो अध्यादेश लामो समय सम्म नटिक्ने र यदि टिकाउ भएमा स्वयं कांग्रेस र माओवादी केन्द्रलाई पनि हानी गर्ने दावी गरे ।

त्यस्तै फरक प्रसङ्गमा बाल्दै उनले नेकपा एमालेको सरकारले लोडसेडिङ अन्त्य गर्नमा भूमिका खेलेको भएयता पनि एउटा कर्मचारीले चमत्कार देखायो भनेर प्रचार गरेको समेत बताए । उनले भने, ‘करिब ३ सय मेगावाट विद्युत भारतबाट किनेर लोडसेडिङ अन्त्य गरिएको हो । एउटा कर्मचारीले चमत्कार देखाएको भनेर यहाँ पुजा गर्ने गरिन्छ । तर, विद्युत प्राधिकरणबाट २७÷२८ करोड पैसा पत्रपत्रिकालाई बाँडेर एउटा ब्यक्तिलाई नायक बनाइएको आज उजागर भएको छ । अहिले नेकपा एमाले विरुद्ध जुन प्रकारको षड्यन्त्र र घेरा बन्दी भएको छ । त्यो रहस्य पनि धेरै लामो समय टिक्ने छैन्, छिट्टै उजागर हुने छ ।’

प्रकाशित मिति : २०७८ भाद्र १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस