आम निर्वाचनमा भाग लिन एमालेले कसैसंग सहारा लिदैन: पोखरेल

दाङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्री शंकर पोख्रेलले आम निर्वाचनमा भाग लिन एमालेले कसैसंग सहारा नलिने बताए । शुक्रबार दाङको लमहीमा नेकपा एमाले दाङ क्षेत्र नं. १ ले आयोजना गरेको वृहत प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले पार्टी भित्रका अराजक प्रवृत्तिका व्यक्तिका कारण केही समस्या निम्तिएको भएपनि त्यसले कुनै असर नगर्ने बताए ।

त्यस्तै उनले अब मुलुकमा २ वटा मात्र राजनीति कित्ता भएको समेत बताए । उनले भने,‘ एउटा नेकपा एमालेको नेतृत्वमा जसले केपी शर्मा ओलीले गर्नुभएको छ । अर्को नेकपा एमाले विरोध राजनीतिक गठबन्ध जसको नेता माधव नेपाल, प्रचण्ड होइन् । त्यसको नेता शेर बहादुर देउवा हो । एकातिर शेर बहादुर लगायतका गठबन्धन र अर्को तिर नेकपा एमाले केपी ओली नेतृत्वको कित्ता हो ।’ त्यस्तै कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले नेकपा एमाले कुनैपनि हालतमा विचलित नहुने बरु सुदृढ भएर जनमतका आधारमा फेरी पनि ठूलो पार्टी बन्ने बताए । उनले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको लोकप्रियता देखेर सरकार ढाल्ने षड्यन्त्र रचिएको बताए ।

‘ प्रधानमन्त्री केपी शर्मा ओलीको लोकप्रियताले आफ्नो राजनीति सकिने डरले सरकारबाट ढलाउन गठबन्ध बनाइयो । परमादेशबाट सरकार बनाएर जनताको अभिमतको अवमूल्यन गरियो,‘ उनले भने,‘ अव एमाले चुनाव बाट फेरी पहिलो पार्टी बन्छ । एमाले प्रति आम जनता र कार्यकर्ताको आशा, भरोसा छ ।’ नेकपा एमाले दाङ क्षेत्र नं। १ का संयोजक शिवराज गिरीको अध्यक्षता भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य सुजिता शाक्य, प्रतिनिधि सभाका सचेतक तथा नेतृ शान्ता चौधरी, नेकपा एमाले राष्ट्रिय परिषद सदस्य छविलाल वली, प्रतिनिधि सभा सदस्य गङ्गा थारू, राष्ट्रिय सभा सदस्य कोमल वली, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, तुलसा केसी, ध्रुव आचार्य, रामजी चौधरी (मिलन), नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी, लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसी, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, धुप नारायण चौधरी, सीता चौधरी लगायतले सम्बोधन गरेका थिए ।

क्षेत्रीय सचिव मोहन सिंह बुढाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन क्षेत्रीय इन्चार्ज नारायण डिसी छम्पालीले गरेका थिए । माधव नेपालको नेतृत्वमा अलग पार्टी बनेपछि नेकपा एमालेले कार्यकर्ता प्रशिक्षण संगठन बिस्तार र सुदृढीकरण अभियान सञ्चालन गरेको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस