राप्ती प्रादेशिक अस्पतालका मेसुलाई कालोमोसो दल्ने २ जना पक्राउ, ४ जना फरार

दाङ ।  गत शुक्रबार दिउँसो राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहलाई कालो मोसो दल्नेलाई प्रहरीले पक्राउ गरेको छ ।   दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार घटनामा संलग्न २ जना आइतबार राती पक्राउ परेका छन् । उनले कोरोना महामारीमा फ्रन्ट लाइनमा खटेर नागरिकको ज्यान बचाउन लागि परेका स्वास्थ्यकर्मीहरू माथि यस्तो हुनु भनेको  अराजक किसिमको काम भएको समेत बताए ।

उनले त्यो घटना संलग्न अन्य अराजक ब्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन आफूहरू दिन रात लागि रहेको भन्दै उनीहरूलाई स्वास्थ्यकर्मीहरू सम्बन्धी बनेको कानुन अनुसार नै कारबाही  हुने समेत बताए । उनले भने ,‘ त्यो अध्यादेशमा स्वास्थ्यकर्मी माथि हातपात गर्ने, अमानवीय व्यवहार गर्नेलाई बढिमा ५ वर्ष सम्म कैदको ब्यवस्था गरिएको छ । आइतबार राती मेसुलाई कालो मोसो दल्ने मुख्य ब्यक्तिहरू पक्राउ परिसकेका छन् ।

बाँकी ४ जना रहेका छन् । उनीहरु पनि सम्भव त आज बेलुकासम्म पक्राउ पर्न सक्छन् ।’  त्यस्तै उनले घटनाका दोषीहरू पक्राउ गरी स्वास्थ्यकर्मीहरूको सुरक्षा सम्बन्धी अध्यादेश २०७८ बमोजिम जिल्ला प्रहरी कार्यालय दाङमा मुद्दा दायर गरेको र   कानुन बमोजिम कारबाही गरी स्वास्थ्यकर्मीहरूको  मनोवल बढाउनेमा आफूहरू लागि रहेको समेत बताए । सिसी क्यामेराको फुटेज अनुसार नै  पक्राउ परेका २ व्यक्तिहरूले मेसुलाई कालो मोसो दलेको देखिन्छ ।

त्यही अनुसार नै उनीहरूको पहिचान गरी उनीहरूलाई पक्राउ गरिएको समेत उनले बताए । नेकपा एमाले सम्बद्ध अनेरास्ववियु दाङका संयोजक सर्जन परियार सहितको समूहले भदौ ११ गते दिउँसो साढे १ बजेतिर मेसु सिंहलाई कार्यकक्षमै प्रवेश गरी मोसो दलेका थिए । 

प्रकाशित मिति : २०७८ भाद्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस