रुकुम पूर्वका सबै आइसोलेसन खाली

रुकुम । कोरोना संक्रमित बिरामीका लागि बनाइएका रुकुम पूर्वका आइसोलेसन वार्ड अहिले खाली भएको छ । पछिल्लो समय भूमे गाउँपालिको आइसोलेसन र रुकुम पूर्व अस्पतालको आइसोलेसनका संक्रमित डिस्चार्ज भएकाले त्यहाँका वार्ड खाली भएका हुन् । सिस्ने गाउँपालिकाले आइसोलेसन अस्पताललाई नै हस्तान्तरण गरेकामा त्यहाँ कोभिड संक्रमितको हुँदै आएको छ ।

जिल्लास्थित सबै आइसोलेसनमा रहेका संक्रमित निको भई डिस्चार्ज भइसकेका र नयाँ संक्रमित भर्ना नभएकाले साउन ३२ गतेदेखि नै ती वार्ड खाली भएको स्वास्थ्य कार्यालयका निमप्रसाद गिरीले जानकारी दिए । पुथाउत्तरगंगा गाउँपलिकाको आइसोलेसन भने यसभन्दा अगााडि नै खाली भइसकेको थियो ।

अहिले जिल्लामा २५ सक्रिय संक्रमित रहेका र उनीहरू सबै होम आइसोलेससनमा छन् । उनका अनुसार कोरोनाको दोस्रो लहर शुरू भएयता हालसम्म ५४१ जनामा कोरोना पोजेटिभ देखिएकोमा ५१० निको भइसकेका र १३ जनाको मृत्यु भएको थियो ।

पछिल्लो समय जिल्लामा कोरोना संक्रमित घट्दै गएको पाइएको छ । अस्पतालसहित जिल्लाका २ वटै गाउँपालिका र विभिन्न स्वास्थ्य चौकीबाट कोरोनाको परीक्षण भइरहेकामा संक्रमित घट्दै गएकाले परीक्षणको दायरा पनि घटाइएको छ । अहिले अस्पतालमा मात्रै दैनिक परीक्षण भइरहेको गिरीले बताए ।

प्रकाशित मिति : २०७८ भाद्र ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस