क्वाँटी स्वास्थ्यका लागि निकै फाइदाजनक

काठमाडौं । टुसा स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । टुसा उमारेको कुनै पनि खाद्यवस्तुलाई जीवन्त खानेकुरा भनिन्छ । महत्त्वपूर्ण सांस्कृतिक पहिचान बोकेको क्वाँटी जनैपूर्णिमा पर्वको विशेष आहारका रूपमा रहँदै आएको छ । परम्परागत रूपमा यसले जाडो आउन सुरु गरेको सन्देश पनि दिन्छ । जाडोका वेला टुसा उमारेको खानेकुराले मानव स्वास्थ्यमा एकदमै फाइदा गर्छ भन्ने कुरा हाम्रा पुर्खालाई जानकारी थियो । उनीहरूको परम्परागत ज्ञानले स्वास्थ्यमा लाभ पुर्याउने थाहा भएरै क्वाँटी खाने प्रचलन अविच्छिन्न रहिआएको हो र यसको निरन्तरताका लागि सांस्कृतिक रूप दिइएको हुनुपर्छ ।

यी हुन क्वाँटीका फाइदा

१. टुसा उमारेको क्वाँटी प्रोटिनको खानी हो । किनभने, यसमा थुप्रै किसिमका गेडागुडी मिसाइएका हुन्छन् । टुसा उम्रेपछि क्वाँटीमा भएका तत्त्वहरू प्रोटिन, सूक्ष्म पोषकतत्त्व, क्याल्सियम, भिटामिन १० गुणा बढ्न जान्छन् ।

२. क्वाँटी जीवन्त खाना हो, पचाउन पनि निकै सजिलो हुन्छ । दाल, गेडागुडीको सेवन गर्दा शरीरमा ग्यास उत्पन्न हुन सक्ने सम्भावना हुन्छ । तर, क्वाँटी बनाएर खाएपछि शरीरमा ग्यास बन्ने सम्भावना ज्यादै न्यून हुन्छ ।

३. बालबालिकालाई कुपोषण तथा गर्भवती महिलाको शरीरमा प्रोटिनको कमी नहोस् भनेर क्वाँटी खान दिने गरिन्छ । प्रोटिनको कमी नभएपछि महिलालाई रक्तअल्पता पनि हुन पाउँदैन ।

४. गर्भवतीमा रगतको कमी नभएपछि भ्रूण वा पेटको बच्चा पनि राम्रो हुन्छ । गर्भवतीमा मात्र नभएर सुत्केरी भएपछि पनि क्वाँटीको सेवनले आमा र बच्चा दुवैलाई फाइदा पुर्याउँछ । यसको सेवनले महिलाको दूध राम्रोसँग आउने हुँदा बच्चालाई पर्याप्त मात्रामा दूध प्राप्त हुन्छ ।

५. क्वाँटीको रस खाँदा पर्याप्त मात्रामा शरीरमा चाहिने क्याल्सियम, प्रोटिन प्राप्त हुन्छ, जसले आमाको दूध पनि बढाउने गर्छ । त्यसकारण सुत्केरी महिलालाई ज्वानो तथा क्वाँटीको रस खुवाउने हाम्रो जुन परम्परागत छ, त्यो एकदमै वैज्ञानिक छ ।

६. कोही व्यक्ति कुनै रोग तथा शरीरमा समस्यापछि तंग्रिन लागेका वेला पनि क्वाँटीको रसले धेरै फाइदा पुर्याउँछ । जो व्यक्ति शाहाकारी जीवनशैली अपनाउँछन्, माछा–मासु खाँदैनन्, उनीहरूका लागि क्वाँटी अति उपयोगी हुन्छ । क्वाँटीले प्रोटिन तथा अन्य पोषकतत्त्व प्रदान गर्छ ।

७. क्वाँटीलाई विभिन्न तरिकाले पकाएर खान सकिन्छ । सुप बनाएर वा तरकारीका रूपमा पनि यसको प्रयोग गर्न सकिन्छ । क्वाँटीलाई पिसेर मकै पिठोमा मिलाएर बालबालिकाका लागि खाजा खाजा तयार गर्दा यसको पौष्टिकता एकदमै बढ्न जान्छ । किनभने, मकैमा भएको कार्बोहाइड्रेट, क्वाँटीमा भएका विभिन्न किसिमका सूक्ष्म पोषकतत्त्व मिलेपछि असाध्यै राम्रो खाद्यवस्तु बन्छ ।

क्वाँटी अन्य फाइदा

क्वाँटी शक्तिवर्धक एवम् पौष्टिक आहार हो । यसमा भिटामिन बीका सबैजसो प्रकार पाइन्छन् । क्वाँटीको सेवनले–
– आवश्यक ऊर्जा प्राप्त हुन्छ ।
– रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । ।
– कब्जियतको र पायल्स भएकालाई फाइदाजनक मानिन्छ

हाम्रो संस्कृतीमा क्वाँटीको रस खाने विशेष दिन छ, अन्य बेलामा पनि क्वाँटीको रस खाँदा शरीर स्वस्थ रहन्छ । टुसा उमारेको चना बालबालिकालाई खुवाइयो भने प्रोटिनको मात्र पर्याप्त हुन्छ ।

टुसा उमारेको कुनै पनि गेडागुडी जस्तो चना, मटर, केराउ, बोडी, बकुला, मेथी मात्र होइन कि आलस, तिल, बदाम पनि टुसा उमारेर खान सकिन्छ ।

प्रकाशित मिति : २०७८ भाद्र ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस