खोप नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरानाविरुद्धको खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको बताए । कान्तिपुर इकोनमिक समिट २०२१ लाई आइतवार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले सरकारले कोभिड–१९ विरुद्धको तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन आर्थिक पुनरुत्थानको रणनीतिमा काम गरिरहेको जानकारी दिए ।
उनले भने, एकातिर खोप व्यवस्थापनका लागि आवश्यक परेमा संसारका हरेक खोप निर्मातासम्म सबै खालका उपाय लगाएर पुग्नेछौै भने अर्काेतिर पहुँच भएकाले मात्र खोप पाउने स्थिति नबनोस् भनेर खोपको वितरण समन्यायिक हुने मानवीय आधारको हुने स्थिति पनि बनाउने छौँ ।’ यो हप्तासम्म पूर्णमात्रामा खोप लगाएका ३२ लाखसहित कुल ७८ लाख जनाले कम्तीमा खोपको पहिलो डोज लगाएका र दैनिक तीन लाख ६७ हजार जनासम्मलाई खोप लगाउन सकिएको अवस्था बनेको उनले बताए ।
अहिले नेपालमा आइसकेको एक करोड आठ लाख खोपबाहेक आउँदो असोजसम्म कम्तीमा अर्काे एक करोड खोप आउने भएको छ । यसबाहेक आउँदो चैतसम्म सरकारले खोप लगाउन उपयुक्त सबै नागरिकलाई खोप लगाएर सक्ने प्रण गरेको प्रधानमन्त्री देउवाले जानकारी दिए ।