को हुन् लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ?

बुटवल । विभिन्न राजनीतिक हलचल र काण्डले देशभर चर्चामा रहेको लुम्बिनी प्रदेशले नयाँ मुख्यमन्त्री प्राप्त गरेको छ । नेकपाको बहुमतबाट मुख्यमन्त्री बनेका शंकर पोखरेल अल्पमतमा परेर राजीनामा दिई बाहिरिएपछि बुधबार प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारका लागि आह्वान गरेका थिए । सोही अनुसार नेकपा माओवादी,कांग्रेस,जसपा र जनमोर्चाको संयुक्त गठबन्धनले बिहीबार कुलप्रसादलाई मुख्यमन्त्रीको लागि सिफारिस गरेको थियो । गठबन्धनले ४२ सांसदसहित मुख्यमन्त्रीको लागि सिफारिस गरेपछि प्रदेश प्रमुख शेरचनले उनलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीको जन्म वि.सं. २०२७ साल माघ १० भएको हो । बुवा टिकाराम केसी र आमा रजमता केसीको कोखबाट केसीको रोल्पाको रोल्पा नगरपालिका–६ जिवाङमा जन्म भएको हो ।

राजनीतिक ईतिहास
सानै उमेरबाट राजनीतिमा रुची राख्ने केसीले गाउँकै प्राथमिक विद्यालयबाट शिक्षा प्रारम्भ गरि २०४३ सालमा कक्षा ७ मा पढ्दादेखि नै अनेरास्ववियुको सदस्यता लिएकाका लिएका थिए । वि.स. २०५० सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको रोल्पा भ्रमण हुँदा कालो झण्डा प्रर्दशन गरेबापत उनी शिक्षक पेशाबाट वर्खास्त गरेका थिए ।

यस्तै राजनीतिमा सक्रिय हुन थाले उनले २०५० मा नेपाल कम्यूनिष्ट पार्टी माओवादीको रोल्पा जिल्ला समिति सदस्यता प्राप्त गरे । विद्यार्थी राजनीतिमा सक्रिय उनले २०५० सालबाट पार्टीको जिल्लाको राजनीतिमा सामेल हुने अवसर प्राप्त गरे ।
२०५० सालमै केसीलाई माओवादीले दाङ, प्यूठान र सल्यानको सेक्रेटरीको जिम्मेवारी प्रदान गर्यो । उनले त्यतिबेला माओवादीको संगठन विस्तारमा महत्वपूर्ण योगदान पुर्याए ।

२०५७ सालमा केसीलाई भेरी कर्णाली क्षेत्रीय व्युरो सदस्यताको जिम्मेवारी दिईयो । साथै, उनलाई पार्टी संगठन निर्माण तथा विस्तारका साथै जनसेनाको प्लाटुन कमिसरको जिम्मेवारी पनि प्राप्त गरे । वि.सं. २०५७ सालमा उनले माओवादीको बाग्मती र नारायणी ईन्चार्जको जिम्मेवारी सँगै पोलिटिकल व्यूरोको जिम्मेवारी प्राप्त गरे । उनले ०५८ सालमै माओवादीको केन्द्रीय सदस्य बने । उनी २०६३ साल साउन २५ गते भारतीय जेलबाट रिहा भएका थिए ।

यस्तै, २०६३ सालमा योङ कम्यूनिष्ट लिगको केन्द्रीय ईन्चार्जको जिम्मेवारी प्राप्त गरे । २०६३ सालमा कमिसार, जनसेना तेस्रो डिभिजन शक्तिखोरको जिम्मेवारी प्राप्त गरे । उनले २०६९ मा नेकपा एकीकृत र नेकपा माओवादी पार्टीमा फुट भएपछि नेकपा क्रान्तिकारी माओवादी वैद्य समूहको स्थायी कमिती सदस्यको जिम्मेवारी प्राप्त गरे । ०७२ सालमा नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेवारी पाए । यस्तै उनी २०७४ सालमा प्रदेश सभा सदस्यमा रोल्पा १ बाट निर्वाचित भए । फागुन ३गते देखि उनी लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भए ।

उनी २०७५ सालमा नेकपाको केन्द्रीय सदस्य, हाल लुम्बिनी प्रदेशको सहईन्चार्जको जिम्मेवारी पाए । उनी २०७७ सालमा नेकपाको स्थायी कमिटी सदस्यको जिम्मेवारी पाए । केसी २०५०–२०६० साल सम्म नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा समाहित चएर भूमीगत राजनीतिमा लागेका थिए । यस्तै, २०६०–२०६३ नेकपा माओवादीको पोलिटब्यूरो सदस्यको बैठकमा भाग लिएर कार्यक्षेत्र नेपाल फर्किदै गर्दा २०६० सालमा पटनामा भारतीय प्रहरीबाट गिरफ्तार भई २०६३ साल साउन २५ गतेसम्म भारतीय जेलमा कैदी जीवन बिताएका थिए ।

यस्तै प्रवीणता प्रमाणपत्र तहसम्मको शिक्षा हासिल गरेका के.सी चीन, भारत र हङकङ लगाएतका देशको भ्रमण समेत गरेका छन् । उनका एक श्रीमति, एक छोरा र एक छोरी रहेका छन् । बि.स. २०६३ देखि हालसम्म विभिन्न राजनीतिक जिम्मेवारीसहित हालसम्म राजनीतिमा पूर्ण सक्रिय हुदैँ २०७८ साउन २८ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियूक्त भए ।

प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस