लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी नियुक्त

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । नेकपा एमालेका नेता शंकर पोख्रेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । नवनियुक्त मुख्यमन्त्री केसीलाई नेपाली कांग्रेस, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहित ४२ सांसदको समर्थन रहेको थियो । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । सोहि अनुरुप नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसीले चार दलको समर्थनमा बिहीबार माग दाबी गरेका थिए ।
प्रदेश प्रमुख शेरचनले दिएको समय अवधिसम्म केसीको मात्र माग दाबी परेपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा केसीलाई नियुक्त गरेका हुन् । अब केसीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । गठबन्धनको सहमती अनुसार माओवादी र कांग्रेसले आगामी अवधी आलोपालो गरी प्रदेश सरकारको नेतृत्व गर्नेछन् । सोहि सहमती अनुसार बिहीबार नियुक्त भएका केसीले २०७८ फागुन २ गतेसम्म लुम्बिनी प्रदेशको नेतृत्व गर्ने छन् ।
त्यसपछि नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कानौडिया मुख्यमन्त्री बन्ने सहमती भएको छ । केसी रोल्पा निर्वाचन क्षेत्र नम्वर १ –क)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।