लुम्बिनी प्रदेशको विशेष अधिवेशन : मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफलका लागि प्रदेशसभाको विशेष अधिवेशन आज दिउसो बस्दै छ । विपक्षी गठनबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गत साउन १९ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्नुका साथै प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन डाक्न समावेदन दिएका थिए ।

प्रदेश प्रमुख अमिक शेरचनले आज दिउसो १ बजेका लागि बैठक आह्वान गरेका छन् थिए । बैठकमा विपक्षी दलले मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव पेश गर्ने भएपछि नेकपा एमाले संदीय दलको बैठक अहिले विहान मुख्यमन्त्री निवासमा बसिरहेको छ । अविश्वासको प्रस्तावको सामना गर्ने वा अविश्वास प्रस्तावको सामना गर्ने बारे छलफल हुने एक नेताले जानकारी दिए ।

यसअघि मुख्यमन्त्री पोखरेल विरुद्ध विपक्षी गठबन्धनले वैशाख ६ र २६ गते पनि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । ६ गते दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बैठक बोलाएकै दिन वैशाख १९ गते मुख्यमन्त्रीबाट पोखरेलले राजीनामा दिएर एमालेको एकल बहुमत दाबी गर्दै पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

वैशाख २६ मा दोस्रोपटक अविश्वासको प्रस्ताव दर्ता भए पनि तत्कालीन प्रदेश प्रमुख यादवले आवश्यक नरहेको भन्दै विशेष अधिवेशन आह्वान गरेका थिएनन् । त्यसयता सत्तारूढ दल एमाले र विपक्षीबीच साँसद तानातान चलिरहेको छ । लुम्बिनीमा हाल कायम प्रदेशसभा सदस्यहरुको संख्या ८० मध्ये सत्तारुढ दल एमालेका ३८ सांसद छन् । बहुमतका लागि ४१ सांसदको समर्थन आवश्यक पर्छ । विपक्षी दल नेपाली कांग्रेस १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद छन् ।

प्रकाशित मिति : २०७८ साउन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस