लुम्बिनीका भौतिक पूर्वाधार मन्त्री पाण्डेयद्वारा राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार साँझ पदबाट राजीनामा दिएका हुन् । लुम्बिनी प्रदेश सरकारले संविधान एवं कानूनलाई सर्वोपरी मानी कुशलतापूर्वक सरकार सञ्चालन गर्दै आएकोमा अहिलेको परिस्थिती भिन्न भई गम्भिर ध्यानाकर्षण भएको बताउँदै सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनुनै उपयुक्त निर्णय ठानेर राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । उनी मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारका मन्त्री थिए ।

यसैबीच, पाण्डेयसहित जसपा लुम्बिनी प्रदेशका ३ जना सांसद पदमुक्त भईसकेका थिए । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले साउन १५ गते सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेयसहित विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पनि पदमुक्त गरेको जानकारी दिएका थिए ।

प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको नीति तथा कार्यक्रम पारित नगर्न पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधेको र स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार पार्टीले उनीहरूलाई कारबाही गरेको थियो । उनीहरूलाई जसपाको केन्द्रीय कार्यकारी समितिको बैठकले पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियोे ।

प्रकाशित मिति : २०७८ साउन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस