लुम्बिनीका दुई सांसदलाई हटाएको विषयमा सर्वाेच्चको कारण देखाउ आदेश

बुटवल। सर्वाेच्च अदालतले लुम्बिनी प्रदेश सभाका सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई हटाउनुको कारण सोधेको छ । एमाले प्रवेश गरेपछि प्रदेश सभा सदस्यबाट पदमुक्त गरिएका न्यौपाने र पन्थीले आफूहरुलाई बिनाकारण हटाइएको भन्दै पुनर्बहालीको मागसहित सर्वोच्च अदालतमा निवेदन दिएका थिए । निवेदकहरुले नेकपा (माओवादी केन्द्र), लुम्बिनी प्रदेश प्रदेश सभा सचिवालय, लुम्बिनी प्रदेशका सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाइ पुनर्बहालीको मागसहित निवेदन दिएका थिए ।

आइतबार भएको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भटराईको इजलासले उनीहरुलाई हटाउनुको कारणको मागसहित भदौ ८ गते दुवै पक्षलाई बोलाएको निवेदकका कानुन व्यवसायी ईश्वरी भट्टराईले बताए ।

न्यौपाने र पन्थीले आफूहरुलाई नेपालको संविधान र नेकपा माओवादी केन्द्र संसदीय दलको विधान विपरीत हटाइएको भन्दै साउन ७ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए। माओवादी केन्द्रको पत्रको आधारमा सभामुख पूर्णबहादुर घर्तीले चैत २३ मा उनीहरुलाई निलम्बन गर्दै पद रिक्त भएको जानकारी दिएका थिए। तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को संयुक्त घोषणा पत्रका आधारमा निर्वाचनमा लडेकाले एमाले प्रवेश गरेको भनेर हटाउन नमिल्ने निवेदकहरुको जिकिर छ ।

प्रकाशित मिति : २०७८ साउन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस