माधव नेपाललाई पार्टीमा कुनै ठाउँ छैन : ओली

फाइल तस्वीर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालका लागि पार्टीमा कुनै ठाउँ नभएको बताए । नेकपा एमाले काठमाडौ जिल्ला कमिटीको बैठकमा अध्यक्ष ओलीले वामपन्थीको सरकार ढालेर विपक्षीलाई मत दिएको भन्दै माधव नेपाललगायतका नेताका लागि पार्टीमा ठाउँ नभएको बताए । आफू नेतृत्वको सरकार ढालेर विकास र समृद्धिको सपनामा कुठाराघात भएको ओलीको दावी छ ।

माधव नेपाल र माधव नेपालको पक्षमा रहेका आन्दोलन विरोधीहरुलाई पार्टीमा ठाउँ नरहेको र चुनावमा टिकट पनि नदिने अध्यक्ष ओलीले बताए । नेपाल पक्षकै कारण पार्टीको अभियानमा गम्भीर धक्का लागेको ओलीले भने । यसैबीच नेकपा एमालेको विघटित एकता कार्यदलका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन् ।

नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विघटित एकता कार्य दलको बैठकमा नेताहरुले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएको एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए । अध्यक्ष ओली पक्षले विघटित पार्टी एकता कार्य दलले सहमति जुटाएको १० बुँदे सहमतिलाई मुख्य आधार बनाएर पार्टी एकता छिटो टुंग्याउनुपर्ने अडान राख्दैै आएको छ ।

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस