दाङमा जङ्गली बँदेल मारेको आरोपमा पाँच जना पक्राउ

दाङ । दाङमा जङ्गली बँदेल मारेको आरोपमा पाँच जना पक्राउ परेका छन् । बँदेलको मासु काटेर भाग लगाउँदै गरेको अवस्थामा डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोलीले पाँच जनालाई २१ किलोभन्दा बढी मासुसहित पक्राउ गरेको हो ।

घोराही उपमहानगरपालिका भकारे गाउँमा जङ्गली बँदेलको मासु काट्दै गरेको अवस्थामा २१ किलोभन्दा बढी मासुसहित पाँच जना पक्राउ परेको डिभिजन वन कार्यालय दाङले जनाएको छ । पक्राउ पर्नेहरूमा घोराही उपमहानगरपालिका ४ भकारे गाउँका बोधिप्रसाद खत्री, श्रीराम थापा, रुद्रबहादुर रोका, वीरबहादुर रोका र कौशिला गुरुङ रहेका सब डिभिजन वन कार्यालय सुनपुरका प्रमुख सहायक वन अधिकृत विष्णुप्रसाद लामिछानेले जानकारी दिए ।

घटनाबारे सूचना पाएपछि सहायक वन अधिकृत विष्णुप्रसाद लामिछाने र प्रहरी चौकी गोल्लीबाट गएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । मासु काटेर डेक्ची र बोरामा भाग लगाउँदै गरेको अवस्थामा वन र प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरु माथी थप अनुसन्धान भईरहेको बताईएको छ ।

प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस