पछिल्लो २४ घण्टामा ३१०८ संक्रमित थपिए, १५९५ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीन हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार १३५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो ।
आज देशभर एक हजार ५९५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ६०७ जना संक्रमितको मृत्यु भइसकेको छ ।
देशभर २६ हजार ४१९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २३ हजार ८३४ जना संक्रमित होम आइसोलेसन र २ हजार ५८५ संस्थागत आइसोलेसनमा रहेका छन । संस्थागत आइसोलसनमध्ये ५९२ जना आइसियुमा र १७२ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ३२६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।