तुलसीपुरका व्यापारीलाई खोपको व्यवस्था गर्न तुलसीपुर चेम्बरको माग

दाङ । तुलसीपुर चेम्बर अफ कमर्सले तुलसीपुरका सबै व्यापारीलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्न माग गरेको छ । चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा बसेको बैठकले कोरोना महामारीको समयमा प्रति व्यापारीले दैनिक दर्जनौ ग्राहकहरुसंग कारोबार गर्ने भएकाले व्यापारी र ग्राहक पनि जोखिममा पर्ने भएकाले तत्काल खोपको व्यवस्था गर्न सम्बन्धित निकायसंग माग गरेको हो ।
यसैगरी बैठकले लुम्बिनी चेम्बरको लुम्बिनी प्रदेशको सदस्यका लागि युवा व्यवसायी पदम पोख्रेल (जेठुकान्छु)लाई सिफारिस गर्ने निर्णय गरेको छ भने कोरोना महामारीका बेला कोभिड प्रभावितहरुलाई राहत उपलब्ध गराउने चेम्बरका महासचिव प्रेम प्रकाश गिरीलाई धन्यवाद दिने निर्णय गरेको छ ।
बैठकमा चेम्बरकाका सल्लाहकार द्धोय तेजविक्रम घर्ती, बलिराम खत्री, उपाध्यक्ष वेणु अधिकारी, भागवत कमलापुरी, युवराज नेपालीलगायतले चेम्बरलाई अझै सशक्त रुपमा अघि बढाउनुपर्नेमा जोड दिए । सो अवसरमा कोषाध्यक्ष सन्तोष खड्काले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने कार्यक्रमको सहजीकरण सचिव ऋषीराज भण्डारीले गरेका थिए ।