पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक साउन ३ गते
काठमाडौ। प्रतिनिधि सभाको बैठक आगामी साउन ३ गते बस्ने भएको छ । सोमबार सर्वोच्च अदालतले पुनःस्थापित प्रतिनिधिसभाको बैठक आगामी साउन ३ गते बोलाउन आदेश दिएको छ ।
अदालतले संसद अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश दिएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउन माग गर्दै दायर भएको रिटमाथि फैसला गर्दै सर्वोच्चले संसद विघटन दोस्रोपटक पुनःस्थापना गरेको हो । सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।
सर्वोच्चको संवैधानिक इजलासले आज १४६ सांसदले दायर गरेको मुद्दामा फैसला गर्दै संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो । संक्षप्त आदेश पढ्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रतिनिधिसभाको विघटन ७६ (५) र ७ मा रहेको प्रावधान अनुसार नदेखिएको फागुन ११ को सर्वोच्चको व्याख्या मर्मअनुसार नभएको यसलाई मान्यता दिन नसकिने बताए ।
‘शेरबहादुर देउवासमेतका १४६ सांसदले गरेको दावी पुग्न नसक्ने भनि राष्ट्रपतिले गरेको निर्णय संवैधानिक भएको पाइएन । राष्ट्रपतिको निर्णय, संसद विघटन, सबै कामकारवाही उत्प्रेषणको आदेशले बदर गरिएको छ ।’–सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ ।