गुगलले नै मिच्यो नेपाली भू–भाग, सिङ्गो वडा नै भारतमा
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको सुस्ता गाउँ भारतमा
बुटवल । नेपाल र भारतको सिमाक्षेत्रमा नेपालको सिमा मिचिने कुरा सामान्य जस्तै हुन्छ । तर, नवलपरासी पश्चिमको एउटा पालिकाको एउटा वडा नै गुगलले भारतको नक्सामा देखाएको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको सुस्ता गाउँलाई गुगल म्यापले भारतमा देखाएको हो । साविकको नरसही गाविस, सुस्ता गाउँपालिका ४ पूरै र साविक कुडिया ४ हालको वडा नं. ३ को केहि भाग पनि गुगल म्यापले भारतीय भूमिमा देखाएको छ । नक्सामा भारत देखाइएको भूमि विहार राज्यतर्फ देखाइएको छ ।
आफूहरु आउँदादेखि नै भारतको नक्सामा देखाएको बताउँछन् । गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे । उनले दशगजा पुग्नको लागि ८ किलोमिटर र नदिसम्म पुग्नको लागि पूर्वमा डेढ किलोमिटर भन्दा धेरै जग्गा भएपनि नक्सा भने भारतमा देखाएको बताए । यसले पालिका हुने काममा कुनै प्रभाव नपारेपनि बैंक तथा वित्तीय संस्थामा जग्गा धितो काम नभएको गुनासो आइरहेको उनले बताए ।
गुगलले नेपाली भूमिलाई भारतमा देखाएको विषयमा सुस्तामा अवलोकनका लागि होस् या काम विशेषले पुग्ने संघ सरकार, प्रदेश सरकारका मन्त्रीहरू, सरकारी निकायका उच्च अधिकारीहरूलाई यसबारे पहिल्यै जानकारी गराउँदै आए पनि कतैबाट सुनुवाई नभएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । यो अन्तर्राष्ट्रिय विषय भएकाले पनि सहजै समाधान नहुने भएकोले अन्तर्राष्ट्रिय न्यायालयमा गुगलविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको पाण्डेले बताए । ‘हामी यस विषयमा छलफलमै छौं । नेपाल सरकारमार्फत मुद्दा दर्ता गराउने कि गाउँपालिका आफैंले मुद्दा दर्ता गराउने भन्ने विषय छिट्टै टुंग्याएर मुद्दा दर्ता हुन्छ’, पाण्डेले भने ।