रोल्पामा घटेन कोरोना संक्रमण, असार ३१ गतेसम्म निषेधाज्ञा

रोल्पा । रोल्पामा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा सकृय संक्रमितको संख्या २ सय १२ पुगेको छ । जिल्लामा ४ हजार ८ सय ३६ जनामा कोरोना परीक्षण गर्दा २ हजार १ सय ७४ जनामा संक्रमण भेटिएको हो । पछिल्लो समय जिल्लामा कोरोना परीक्षण पनि घटाईएको छ ।

दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा १९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यो बाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको समेत मृत्यु भईसकेको छ । जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्याङ्क अनुसार अहिलेसम्म १ हजार ९ सय ४७ जनाले कोरोना जितेका छन् ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले केही खुकुलो बनाउँदै असार महिना भरका लागि निषेधाज्ञा बढाएको छ । जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णयका आधारमा असार २० गते राती १२ बजेदेखि असार ३१ गते बिहीबार राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

निषेधाज्ञा थप गरिए पनि बजार तथा यातायात सञ्चालनमा भने खुकुलो बनाइएको छ । स्वास्थ्य मापदण्ड अपनाउँदै जिल्लाभरका सम्पूर्ण पसलहरु बिहान ६ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ला गर्न पाइने छ । त्यस्तै होटल रेष्टुरेन्टहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड परिपालना गरी तयारी खाजा सेवाग्राहीले लिएर जाने र घरसम्म पु¥याउने मात्र गर्ने गरी सञ्चालन गर्न पाउने उल्लेख छ । विवाह तथा ब्रतबन्धको हकमा बढीमा २५ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी आफ्नो घर वा बसेको स्थान अथवा पार्टी प्यालेसमा गर्न दिने जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ । सार्वजनिक यातायातका सम्पूर्ण साधनहरु स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सिट क्षमता भन्दा बढी संख्यामा यात्रु नराख्ने गरी बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म जिल्लाभित्र सञ्चालन गर्न पाईने छ ।

त्यस्तै एम्बुलेन्स, खानेपानी, विद्युत, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्घजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपंक्षीजन्य पदार्थ (भेटनेरी) सम्बन्धी, इन्धन, खाना पकाउने ग्याँस, दूरसंचार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, सरसफाइमा प्रयोग गरिने साबुनरसेनिटाइजर, कुरियर तथा हुलाक सेवा, बीउविजन एवम् रसायनिक मल बोकेको साधनहरु, प्रिन्ट लगायतका कार्यमा प्रयोग हुने सवारी साधनलाई पास लिनु नपर्ने उल्लेख छ ।

सार्वजनिक सेवा सञ्चालन गर्ने सरकारी कार्यालयहरु, सार्वजनिक सेवा प्रदायक संस्था एवम् बैंक तथा वित्तिय संस्थाहरुको सवारी साधनहरु जिल्लाभित्र सञ्चालन गर्न पाउने छन् । यस्तै सबै प्रकारका सभा, सम्मेलन, दोहोरी नाचघर, क्लब, मनोरञ्जन स्थल, हेल्थक्लब, कबर्ड हल, फुटसल, जिमखाना, दर्शकसहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कुनै पनि कार्यक्रमहरु सञ्चालन गर्न पाइने छैन ।

स्कुल तथा विद्यालयहरु भौतिक रुपमा उपस्थित भइ सञ्चालन गर्न नपाइने र अर्काे सूचना नभएसम्मको लागि कुनै पनि परीक्षा सञ्चालन नगर्ने तर अनलाइन कक्षा सञ्चालन गर्न भने कुनै बाधा नपर्ने र मठमन्दिरमा पुजारीले नित्यपूजा बाहेक सामूहिक पूजा तथा बलि बन्द गर्नुका साथै कुनै पनि मेला महोत्सव गर्न नपाइने प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७८ असार २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस