भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि

दाङ । कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन आजदेखि सुरु हुँदैछ । भेरोसेल खोपको पहिलो डोज लगाइसकेकालाई सरकारले आजदेखि दोस्रो डोज दिन लागेको हो । गएको जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो डोज दिइएको थियो ।

उनीहरूलाई २१ देखि २८ दिनभित्रमा दोस्रो खोप दिने निर्णय भएअनुसार दोस्रो खोप दिन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । यसअघि भेरोसेल खोपको पहिलो डोज लगाएका सबैले आजदेखि सुरु हुने खोप अभियानमा दोस्रो डोज लिन पाउने छन् । एक महिनाअघि पहिलो डोज लगाएकाहरु र त्यस पहिले पनि पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेकाहरुले खोप लगाउन पाउने छन् ।

पछिल्लो पटक भेरोसेलको पहिलो खोप लगाएकाहरुको संख्या झण्डै ५ लाख रहेको र यसअघि छुटेकासमेतलाई पुग्ने गरी दोस्रो डोजको व्यवस्था मिलाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार जेठ २५ र २६ गते पहिलो खोप लगाएका जेष्ठ नागरिकलाई भेरोसिल खोप लगाइएको थियो । कार्यालयले जिल्लाको १० वटै स्थानीय तहमा ४८ वटा खोप केन्द्र तोकेको छ ।

जस अनुसार तुलसीपुरमा १८ वटा खोप केन्द्रबाट २७ सय ७०, घोराहीका ६ वटा खोप केन्द्रबाट ३ हजार, बबईका ५ वटा केन्द्रबाट २१०, लमहीका ३ खोप केन्द्रबाट ७१९, दंगीशरका ३ खोप केन्द्रबाट ३२०, शान्तिनगरका ३ खोप केन्द्रबाट ४३७ खोप लगाईने छ । यस्तै बबईका २ खोप केन्द्रबाट ३८०, राजपुरका २ केन्द्रबाट १४१, राप्तीका २ केन्द्रबाट ६६४ र गठवाका ४ खोप केन्द्रबाट २२० खोप लगाईने कार्यालयले जनाएको छ । साथै खोप लगाउन आउँदा पहिले लगाएको खोप कार्ड र स्वास्थ्य सुरक्षा मापदण्डको पालना अनिवार्य गर्नुपर्ने छ ।

प्रकाशित मिति : २०७८ असार २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस