रोल्पामा असार २० गतेसम्म निषेधाज्ञा

रोल्पा । कोरोना महामारी नियन्त्रण नभएको र नयाँ भेरियन्टसमेत फैलिएको निष्कर्षसहित रोल्पामा असार २० गतेसम्म निषेधाज्ञा बढाइएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र पहिले भन्दा केही खुकुलो पारेर जारी गरेको निषेधाज्ञामा हरेक सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्डहरुको पालना हुने व्यवस्था मिलाई सबै प्रकारको सेवा प्रवाह सुचारु गर्ने, बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सबै प्रकारका बैङ्किङ सेवाहरु खाल््ने, सम्पूर्ण पसलहरु विहान ६ः०० बजेदेखि दिउँसो ०१ः०० बजे सम्म मात्र खुल्ला गर्न सकिने छ ।
त्यसैगरी सरकारी सवारीसँगै निजी सवारी साधनहरुः मोटर साइकल÷स्कुटी तथा कार, जिप र भ्यान (बढीमा ४ जना मात्र राख्ने गरी) जिल्ला भित्र संचालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ । सार्वजनिक सवारी साधनमा टेम्पो र ट्याक्सी मात्र बढीमा ३ जना मात्र राखेर जिल्ला भित्र संचालन गर्न दिईने छ ।
रोल्पामा बुधबारसम्म सकृय संक्रमितको संख्या ३ सय ३ पुगेको थियो । जिल्लामा ४ हजार ३ सय १९ जनामा कोरोना परीक्षण गर्दा १ हजार ९ सय ६४ जनामा संक्रमण भेटिएको हो । त्यसो त पछिल्लो समय जिल्लामा कोरोना परीक्षण पनि घटाइएको छ ।
दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा १८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यो बाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको समेत मृत्यु भईसकेको छ । जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्क अनुसार अहिलेसम्म १ हजार ७ सय ४७ जनाले कोरोना जितेका छन् ।