संक्रमितको उपचार सरकारी अस्पतालमा मात्र गर्ने तयारी

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना सङक्रमण घट्दै गइरहेको अवस्थामा निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन नगरिने बताए ।

उनका अनुसार कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भएका निजी अस्पतालमा मंगलबार सम्ममा भर्ना भइ उपचाररत सङ्क्रमितको दश दिनसम्मको मात्र शोधभर्ना गरिने छ । सङ्क्रमितले आफूले निजी अस्पतालमा उपचार गराउन चाहेको खण्डमा भने उपचार गराउन सक्ने छन् ।

यसरी निजी अस्पतालमा उपचार गराउँदा सरकारले तोकेकोभन्दा बढी शुल्क नलिई सेवा प्रवाह गर्न समेत अनुरोध गरेको छ । सरकारले कोभिड–१९ का सङक्रमितको उपचार व्यवस्थापनका लागि सामान्य बिरामीलाई प्रतिदिन तीन हजार ५००, मध्यम बिरामीका लागि सात हजार र गम्भीर प्रकृतिका बिरामीलाई १५ हजार रुपियाँ निर्धारण गरेको छ ।

प्रकाशित मिति : २०७८ असार ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस