नेपालमा कोरोना विरुद्धको खोप परीक्षणका लागि बाटो खुल्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको खोपको परीक्षण गर्न बाटो खुलेको छ । नेपाल सरकार मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विदेशमा उत्पादनरअध्ययनरपरीक्षण भइरहेको खोपलाई नेपालमा पनि परिक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिँदै बाटो खोलेको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयले नेपाली जनताले खोप पाउने विषय पनि सहज हुने बताए ।

अहिले विश्वभरिका जनताले लगाइरहेको खोप पनि परीक्षणमै रहेकोले नेपालले खोप उत्पादक कम्पनी अथवा देशलाई परीक्षणको लागि अनुरोध गर्न सकिने उनले बताए । परीक्षण गर्न आउने खोप उत्पादकले र त्यो देश जनताको अधिकतम हितलाई ध्यान दिएर काम गर्ने हुँदा अन्यथा लिन नहुने पनि डा. ज्ञवालीले बताए ।

नेपालमा हेपाटाइटिस, कालाजार, मलेरिया, जापनिज इन्सेफ्लाइटिस जस्ताको सफल परीक्षण भएकोले कोरोनाविरुद्धको खोपको परीक्षण पनि फाइदाजनक हुने डा. ज्ञवालीले बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना सम्बन्धी विभिन्न अध्ययन गरिरहेको बताएको छ । साथै आगामी असार १७ र १८ गते काठमाडौँमा बृहत सम्मेलन गर्न लागेको छ ।

प्रकाशित मिति : २०७८ असार ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस