‘हट स्पट’ दाङमा पनि घटे कोरोना संक्रमित

दाङ । एक महिना अघिसम्म कोरोनाको ‘हट स्पट’ अर्थात् सबैभन्दा बढी प्रभावित क्षेत्रका रूपमा रहेको दाङ जिल्लामा पछिल्लो साता संक्रमित घटेका छन्। अहिले यस जिल्लामा कोरोनाका संक्रमितको संख्या घटेको छ र यहाँका अस्पतालका शय्या पनि खाली हुँदै गएका छन्। दुई साता अघिसम्म जिल्लामा कोरोना संक्रमितको उपचार निकै कठिन थियो।
अस्पतालमा शय्या पाउन पनि निकै मुस्किल हुन्थ्यो। अस्पताल परिसरमै बिरामी राखेर उपचार गराइएका तस्बिर विभिन्न सञ्चारमाध्यममा आउने गर्थे भने यहाँका अस्पतालमा कोरोना संक्रमितको ज्यान नगएको दिन हँुदैनथ्यो। सुरुमा अस्पतालमा शय्या मिलाउन र त्यसपछि अक्सिजन जुटाउन झन् समस्या थियो। पछिल्लो समय संक्रमित घटेसँगै यी सबै समस्या हटेका छन् भने अस्पतालमा शय्या खाली हुँदै गएका छन्।
यसको पछिल्लो उदाहरण कोरोना विशेष अस्पताल बेलझुण्डीलाई लिन सकिन्छ। कोरोना संक्रमित बिरामीको उपचारका लागि अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि २५ शय्याको अस्पताललाई सय शय्यासम्म पुर्याइएको थियो। कैयौँ दिन त शय्या खाली नहुँदा बिरामीलाई अस्पतालको बरण्डामै राखेर उपचार गरिएको थियो।
अहिले त्यो कठिन अवस्था पनि हटेको अस्पतालले जनाएको छ। कुनै बेला अस्पतालमा बिरामीका लागि शय्या खाली नहुने अस्पतालमा अहिले ३३ जना मात्र कोरोना संक्रमित उपचाररत छन् र उनीहरूमा पनि अक्सिजन या केहीको खाँचो महसुस भएको छैन भन्छन् उक्त अस्पतालका व्यवस्थापक द्रोण वली। कोरोना संक्रमण दर घट्दै गएपछि अस्पतालमा आउने संक्रमितको संख्यासमेत घट्दै गएको व्यवस्थापक वलीले जानकरी दिए। उनले भने, ‘वैशाख २८ गते यस जिल्लामा मात्र कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो। त्यसदिन यस अस्पतालमा मात्र आठ जनाको ज्यान गएको थियो।’
त्यस समयमा अस्पतालमा बिरामीलाई शय्या पाउन निकै मुस्किल रहेको र अहिले अस्पताल आउने बिरामीको संख्या ४० प्रतिशतले घटेको व्यवस्थापक वलीले बताए। उनले अस्पताल आउने बिरामी मात्र नभई पछिल्लो समय जिल्लामै संक्रमितको संख्या घट्दै गएको पनि जानकारी दिए। घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोरोना आइसोलेसन वार्डमा पनि संक्रमित घटेका छन्।
जिल्लामा कोरोना संक्रमण दर घटेसँगै अस्पतालमा भर्ना हुने कोरोना संक्रमितको संख्यामा कमी आएको प्रतिष्ठानका व्यवस्थापक राजेन्द्र न्यौपानेले जानकारी दिए। कोरोना संक्रमितका लागि उपचार गर्न बनाइएको ५० शय्यामध्ये अहिले अस्पतालमा पाँच जना मात्र संक्रमित उपचारत रहेको उनले बताए। उनले प्रतिष्ठानमा अहिले कोरोना परीक्षणको दर घटेसँगै अस्पतालमा भर्ना हुन आउने बिरामीको संख्यासमेत घटेको बताए।
‘केही समयअघि बिरामीलाई राख्नै मुस्किल हुन्थ्यो तर अहिले त्यस्तो छैन’, उनले भने, ‘अहिले त अधिकांश शय्या खाली नै छन्।’ उनले दैनिक ४० देखि सय हाराहारीमा कोरोना परीक्षण हुने गरेको बताए।यता, कोरोनाका बिरामीलाई लक्ष्य गरी तुलसीपुरमा सञ्चालित तुलसीपुर मेट्रो आइसोलेसनमा पनि ११ जना मात्र कोरोनाका बिरामी उपचाररत छन्।
तुलसीपुरमा कोरोनाका बिरामी अत्यधिक बढ्न थालेपछि वैशाख २८ गते सो अस्पताल तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हो। उपमहानगरपालिकाको वडा नम्बर ८ को अश्वारामा सञ्चालनमा ल्याएको अस्पताल व्यवस्थापन तथा कोरोना महामारी नियन्त्रणका लागि यहाँका विभिन्न व्यक्ति र सामाजिक संघसंस्थाले पनि सहयोग गरिरहेको उपमहानगरपालिकाले जनाएको छ।
यहाँका नागरिकले आर्थिकदेखि अस्पताल व्यवस्थापनमा सहयोग गरेको बताइएको छ। उक्त अस्पतालका लागि विदेशमा बस्दै आएका तुलसीपुर तथा पश्चिम दाङबासीले पनि सहयोग गरेका छन्। नगरप्रमुख घनश्याम पाण्डेको पहलमा स्वदेशी तथा विदेशी संघसंस्थाबाट अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ।
यहाँका युवाले अस्पतालका लागि आर्थिक सहयोग अभियान पनि थालेका थिए। आफूहरूले थालेको अभियानबाट ११ लाखभन्दा बढी रकम संकलन गरी अस्पताललाई हस्तारण गरेको समाजसेवी पदम पोख्रेलले जानकारी दिए।
जिल्लाका १० वटा स्थानीय तहमध्ये तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको सो अस्पताल नमुनायोग्य तथा सुविधायुक्त रहेको यहाँका नागरिक बताउँछन्। अस्पताल सञ्चालनमा आएदेखि हालसम्म एक सय २९ जना कोरोनाका बिरामीको उपचारका लगि आएको अस्पातलका कोभिड ‘फोकल पर्सन’ विमल केसीले जानकारी दिए। उनका अनुसार तीमध्ये ८० जना उपचारपछि निको भएर घर फर्केका छन्। ३३ जनालाई थप उपचारका लागि रेफर गरिएको छ भने पाँच जनाको मृत्यु भएको थियो।
अस्पतालमा सात महिलासहित ११ जना बिरामी उपचाररत छन्। ५० शय्याको अक्सिजनसहितको आइसोलेसन अस्पताल वैशाख २८ गतेदेखि सञ्चालनमा ल्याइएको हो। ‘यहाँका नागरिकले स्वतस्फूर्त रूपमा सहयोग गर्नुभएको छ, सहयोगी मनहरूलाई धन्यवाद ज्ञापन गर्दछाँै। सबैले गरेको सहयोगलाई केही दिनपछि पूर्ण विवरणसहित सार्वजनिक गर्छौं’, उपप्रमुख माया आचार्यले भनिन्।
तुलसीपुर उपमहानगर प्रमुख घनश्याम पाण्डेले सहयोगी संस्था र पहलका लागि लाग्ने सबैलाई धन्यवाद दिएका छन्।
नगर प्रमुख पाण्डेले कोरोनाविरुद्धको युद्धमा लड्दै जाँदा सहयोग पनि जुट्दै गएकाले आइसोलेसन सञ्चालनमा सफलता प्राप्त गरेको र अहिले संक्रमण दर पनि घट्दो रहेको बताए। उनले विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र नागरिकको सहयोगका कारण कोरोनाविरुद्धको अभियानमा लड्न सहज भएको बताए।
त्यस्तै, देउखुरीको लमहीमा रहेको देउखुरी कोरोना विशेष आइसोलेसनमा समेत कोरोना संक्रमितको संख्या घट्दै गएको छ। २५ शय्याको आइसोलेसन केन्द्रमा अहिले ७ जना मात्र कोरोना संक्रमितको उपचार भइरहेको सो केन्द्रले जनाएको छ। कुनै बेला एक दिनमा २३ जना संक्रमितले उपचार गराएको यस केन्द्रमा अहिले बिरामी खासै आएका छैनन्।
त्यस्तै, शान्तिनगर गाउँपालिकामा रहेको कोरोना विशेष आइसोलेसनमा अहिले दुई जना मात्र संक्रमित रहेको शान्तिनगर गाउँपालिकाले जनाएको छ। २० शय्याको आइसोलेसनमा अहिले दुई जना संक्रमितलाई राखेर उपचार भइरहेको शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताए।
यसैबीच, जिल्लामा मंगलबार १३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको बताइएको छ। जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार मंगलबार ४० जनाको कोरोना परीक्षण गर्दा आठ महिला र पाँच पुरुष गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै, पछिल्लो २४ घण्टामा ५४ जनाले कोरोनालाई जितेका छन्। यससँगै जिल्लामा वैशाखयता कोरोनालाई जित्नेको संख्या ७ हजार ४२ पुगेको छ भने संक्रमितको संख्या ७ हजार ५ सय ९१ पुगेको छ। यसमध्ये दुई सय ७१ जना होम आइसोलेसनमा बसेका छन्। यस्तै, ८४ जना संस्थागत आइसोलेसनमा छन् भने १५ जना आइसियुमा उपचाररत छन्।
त्यस्तै, पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु नभएको केन्द्रले जनाएको छ। जिल्लामा वैशाखयता कोरोनाबाट एक सय ९४ जनाको मृत्यु भएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी र आइसियू सेवा सुरु
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबारदेखि बहिरंग९ओपिडी० र आइसियू सेवा सुरु गरेको छ। कोभिड– १९ महामारीको तीव्र संक्रमणका कारण रोकिएको ओपिडी, शल्यक्रिया र आइसियू सेवा सोमबारदेखि सुरु गरिएको हो। प्रतिष्ठानले वैशाख १९ गतेदेखि ओपिडी र शल्यक्रियाजस्ता सेवा बन्द गरेको थियो। पछिल्लो समय कोरोना संक्रमण दर घट्दै गएको तथा सर्वसाधारण बिरामीको सेवालाई ध्यानमा राख्दै ती सेवा सञ्चालनमा ल्याएको प्रतिष्ठानका उपकुलपति प्राडा संगीता भण्डारीले जानकारी दिइन्।
उनले बुधबारदेखि नै आइसियू सेवा सुरु गरिएको र जटिल प्रकृतिका रोगका बिरामीको उपचार सुचारु गरिने जानकारी दिइन्। प्रतिष्ठान प्रशासनले साधारण बिरामी अस्पताल आउँदा एक्लै आउन र अशक्त, ज्येष्ठ नागरिक तथा बालबालिकाको हकमा एकजना मात्रै सहयोगी लिएर आउन आग्रह पनि गरेको छ।
लमही अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
कोरोना संक्रमणकोे व्यवस्थापनमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले क्यानडाबाट लमही अस्पताल र सिसहनियाँ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ। लमही नगरपालिका—५ स्थायी घर भई क्यानडा बसोबास गर्दै आएका निरञ्जन थापाले साथीहरूसँग आर्थिक संकलन गरी पठाएको तीन थान अक्सिजन कन्सन्ट्रेटर, दुई वटा शय्यालगायत स्वास्थ्य सामग्री सहयोग गरेका हुन्।
उक्त स्वास्थ्य सामग्रीमध्ये दुई थान अक्सिजन कन्सन्ट्रेटर र दुईवटा शय्या लमही अस्पताललाई थापाका बुवा नरेन्द्र र आमा पार्वतीदेवीले सोमबार लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेलबासे र लमही अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा।रञ्जिता महतोलाई हस्तान्तरण गरेका हुन्।
यस्तै, सिसहनियाँ स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सन्ट्रेटर मेसिनसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।
असार ८ सम्म थपियो निषेधाज्ञा
दाङमा निषेधाज्ञा एक हप्ता थपिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले यस्तो निणर्य गरेको हो।
जिल्लामा कोरोना संक्रमणमा कमी आएपछि यसअघि गरिएका केही निर्णयलाई परिमार्जन गर्दै निषेधाज्ञालाई असार ८ गतेसम्म लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार त्यसपछि भने यहाँका होटल पनि सञ्चालन हुने भएका छन्।
ती होटलले सुरक्षा मापदण्ड पालना गरी खानेकुरा तयार गरेर प्याकिङ गरी दिउँसो ३ बजेसम्म बेच्न पाउने भएका छन्।
त्यस्तै, सरकारी कार्यालय पनि दैनिक खुल्ने भएका छन्।
जिल्लास्थित सरकारी कार्यालय बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खोल्ने निर्णय भएको छ। त्यसैगरी, यहाँको स्थानीय बजार बिहान ६ देखि १० बजेसम्म खुल्ने, बैंक तथा वित्तीय संस्था बिहान १० देखि दिउँसो २ बजेसम्म खुल्ने निर्णयलाई यथावत् राखिएको छ।
यसअघि असार १ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो।