कोरोना महामारी न्युनीकरण गर्न दाङमा ७ वटा पालिकालाई ५९ लाख आर्थिक सहयोग
दाङ । कोरोना महामारी न्यूनीकरणका लागि आवश्यक उपकरण खरिद गर्न र प्रतिकार्यका लागि एक सामाजिक संस्थाले दाङसहित सल्यान र प्यूठानका स्थानीय तहलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
घोराहीस्थित केन्द्रिय कार्यालय रहेको ग्रामीण महिला उत्थान केन्द्र दाङको सहकार्य र हेफर ईन्टरनेशनल नेपालको सहयोगमा कोभिड १९ को महामारी न्युनीकरण गर्न दाङका ४ पालिकासहित सल्यान, प्यूठानका गरी ७ वटा स्थानीय तहलाई ५९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आशमानी चौधरीले जानकारी दिए । उनीका अनुसार सामाजिक उत्तरादायित्व अन्तर्गत महामारी नियन्त्रणमा केही भएपनि टेवा पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको बताइन् ।
आर्थिक सहायता पाउनेमा घोराही उपमहनगरपालिकालाई ६ लाख, लमही नगरपालिकालाई ९ लाख ५० हजार, बबई गाउँपालिकालाई ११ लाख, दंगीशरण गाँउपालिकालाई ११ लाख, सल्यानको त्रिवेणी गाँउपालिकालाई ४ लाख, प्यूठानको सरुमारानी गाँउपालिकालाई ११ लाख ५० हजार र प्युठानकै स्र्वगद्वारी नगरपालिकालाई ६ लाख कोरोना महामारी न्यूनीकरणका लागि आवश्यक सामग्री तथा व्यवस्थापन गर्न सहयोग प्रदान गरिएको हेफरका क्षेत्रीय वरिष्ठ निर्देशक प्रेम श्यामभयुले जानकारी दिए ।
कोरोनाका कारण समयमा उपचार पाउनबाट कोही पनि वञ्चित हुन नपरोस् भनेर गरिएको आर्थिक सहयोगले नगरपालिकाबासीलाई ठूलो राहत मिल्ने लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले बताए । सहयोग गर्ने संस्थालाई धन्यवाद दिँदै उनले उक्त रकमबाट उपचार सामग्री खरिद गर्ने बताए । हेफरले नगरपालिकामा बसोबास गर्ने नागरिकलाई आर्थिक सबलीकरण र सशक्तिकरणमा योगदान पु¥याउँदै आएको छ ।
यस्तै, दंगीशरण गाउँपालिकाकी उपाध्यक्ष पीमाकुमारी खड्काले गाउँपालिकामा कोरोनाका कारण अकाल ज्यान गुमाएकाहरुको स्मरण गर्दै जोखिमको यो बेलामा संस्थाले गरेको आर्थिक सहायतालाई पूर्ण उपयोग गर्ने बताइन् । ग्रामीण क्षेत्रमा रहेका महिला दिदीबहिनीहरुको जीवन सुधारका संस्थाले खेल्दै आएको भूमिका अविश्मरणीय रहेको बताउँदै उनले भोलीका दिनमा पनि निरन्तर रुपमा सहयोगको अपेक्षा रहने बताएन् । आर्थिक सहयोग कार्यक्रममा संस्थाका तर्फबाट स्थानीय स्तरमा रहेका सहकारी संस्थाका प्रतिनिधिले समन्वय गरेका थिए ।
आर्थिक सहयोग प्रदान गर्न ग्रामीण महिला उत्थान केन्द्रका सल्लाहकार सौगतबीर चौधरी, हेफरका कार्यक्रम अधिकृत महेशकुमार आचार्य, शहरकुमार पोख्रेल, जगत चौधरी, परियोजनाका सहजकर्तालगायत सहभागी भएको ग्रामीण महिला उत्थान केन्द्रका परियोजना संयोजक भीमकान्त चौधरीले जानकारी दिए ।
ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर ईन्टरनेशनल नेपालले ग्रामीण क्षेत्रमा रहेका निम्न आय भएका परिवारको आर्थिक सबलीकरण र सशक्तिकरणमा भूमिका खेल्दै आएको छ । संस्थाले पशुबस्तुको मुल्य श्रृखंलामा आधारित साना किसानहरुको संस्था सबलीकरण परियोजना अन्तर्गत दाङ, सल्यान र प्यूठान जिल्लाका १२ वटा सहकारीमार्फत समन्वय गरी काम गर्दै आएको छ । हेफरले यस क्षेत्रमा विगत १ दशकभन्दा लामो समयदेखि काम गर्दै आएको जनाएको छ । यस्तै, केन्द्रले विगत साढे २ दशकभन्दा लामो समयदेखि यस क्षेत्रमा सामाजिक तथा आर्थिक रुपान्तरणका लागि अहम् भूमिका खेल्दै आएको छ ।